सुर्खेत, १४ चैत ।
सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. ९ मा सञ्चालित खानेपानी तथा सरसफाई योजनाको सुचारुपना सम्बन्धी सार्बजनिक सुनुवाई गरिएको छ ।
हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समाज जागरण केन्द्र स्याक नेपालले सञ्चालन गरेको हेल्लो धारा परियोजनाको सहजिकरण तथा लेकवेशी नगरपालिका वडा नं. ९ को आयोजनामा आज सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख उमेश कुमार पौडेलले खानेपानी लेकवेशी नगरपालिकाको पहिलो प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । आगामी दुई बर्षभित्रमा लेकवेशीवासी सबैको घर घरमा खानेपानीको धारा पुर्याइने नगर प्रमुख पौडेलले जिकिर गर्नुभयो । सबैका घर घरमा स्वच्छ खानेपानी पु¥याउनका लागि स्याक नेपाल, प्रदेश र संघ सरकारसँगै विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा काम भैरहेको उहाँले जानकारी दिनुभयो ।
नगर उप प्रमुख विमला खड्लुकले खानेपानी हरेक प्राणीको सबै भन्दा पहिलो आवश्यक भयकाले अहिले पालिकाले एक घर एक धाराको लक्ष्य अनुरुप काम गरिरहेको बताउनुभयो ।
पालिकाका ८० प्रतिशत घरधुरीमा खानेपानीको सहज पहुँच पुगेको उपप्रमुख खड्लुकले जानकारी दिनुभयो ।
नगरपालिकाका वास इकाइ प्रमुख इन्जिनियर महेश काफ्लेले खानेपानी सम्बन्धी एकीकृत रुपमा काम गर्नका लागि अबको बैशाख सम्ममा खानेपानी बोड गठन गर्ने तयारी भैरहेको बताउनुभयो । वोर्ड गठन भएपछि नगरपालिका भित्र रहेका योजनाहरु को परिचालन तथा समस्या समाधानमा सहज हुने इन्जिनियर कााफ्लेको भनाई छ । खानेपानी आयोजनाको मर्मत संभार तथा विस्तार लगायत सम्पूर्ण काम गर्नका लागि पालिकाभित्रका सबै उपभोक्ता समितिहरु पलिकामा दर्ता हुनुपर्ने उहाँले बताउनुभयो । अनिवार्य पालिकामा दर्ता गर्न आग्रह ।
उपभोक्ता समितिका प्रतिनिधिहरुले आयोजनाको सानातिना मर्मत संभारका काम आफैले गरिरहेको तर ट्यांकी निर्माण, पाइपलाइन विस्तार लगायतका कार्यमा सहयोग गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।
खानेपानी तथा सरसफाई योजनाहरुलाई आगामी दिनमा थप व्यवस्थित गर्नका लागि विभिन्न पाँच बुँदे साझा प्रतिबद्धता गरिएको छ । दर्ता नभयका योजनाहरु २०८२ बैशाख भित्र गरिसक्ने,साधारणसभा नभयका योजनाहरुको साधारण सभा गर्ने, मर्मत सुधार कोष नभएका योजनाहरुमा उपभोक्ता समितिको पहलमा सम्भार कोष संचालन गर्ने, उपभोक्ता समितिले गर्न सक्ने मर्मतका कार्य आफै गर्ने, नसक्ने मर्मत नगरपालिकासंग अनुरोध गर्ने र पालिका भित्र संचलित खानेपानी उपभोक्ता समितिहरुको एकीकृत रुपबाट संचालनको अवधारणमा अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।
वडा नं ९ का अध्यक्ष मान वहादुर सोमैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेल्लो धारा परियोजनाका संयोजक नेत्र विक्रम थापा, विभिन्न उपभोक्ता समितिका प्रतिनिधि, नगर कार्यपालिक सदस्यहरु, वडा सदस्यहरु ल्गायतको सहभागिता रहेको थियो ।