लेकवेशी १ र २ का खानेपानी योजनाको सुचारुपना सार्वजनिक सुनुवाई सम्पन्न

सुर्खेत, १८ चैत ।
खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरुको जवाफदेहीता अभिवृद्धिका लागि सुचारुपना सार्वजनिक सुनुवाई कार्यक्रम लेकवेशी नगरपालिका वडा नं. २ मा सम्पन्न भएको छ ।
लेकवेसी नगरपालिका वडा २ को आयोजना समाज जागरण केन्द्र स्याक नेपालको सहजिकरण तथा हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लेकवेशी नगरपालिका वडा नं. १ र २ मा सञ्चालित विभिन्न खानेपानी तथा सरसफाई योजनाहरुको सुचारुपना सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न योजनाका अध्यक्षहरुले योजनाको सुचारुपनाको अवस्था बारे जानकारी गराएका थिए ।
लेकवेशी नगरपालिकाका उपप्रमुख बिमला खड्लुकले स्वच्छ खानेपानी खानपाउने नागरिकको अधिकार भएको भन्दै स्वच्छ र गुणस्तरीय खानेपानी बितरणमा नगरपालिका लागेको बताउनुभयो । पहिलाको भन्दा खानेपानी सुविधा विस्तार भएको बताउँनुहुँदै उपप्रमुख खड्लुकले आगमी २ बर्षभित्रमा सबै घरधुरीमा धारा पुर्याइने बताउनुभयो ।
नगरपालिकाका इन्जिनियर एवम् वास इकाई प्रमुख महेश कफ्लेले लेकवेशीमा अब नयाँ खानेपानीको लागि योजना बनाउन पर्ने नभयको र भैरहेका योजना लाई दिगोपन दिनुपर्ने बताउनुभयो । २०८४ भित्र पालिकाको सम्पुर्ण वडामा खानेपानीको सहज र सरल पहुँच पुर्याउने लक्ष्य अनुरुप काम भइ रहेको उहाँले जानकारी दिनुभयो । खानेपानी योजनाहरुको सुचारुपनाका लागि हेलो धारा कार्यक्रम अन्तर्गत तत्कालै मर्मत संभार गरिने उहाँले बताउनुभयो । त्यसका लागि अनिवार्य रुपमा योजना दर्ता भयको हुनुपर्ने भयकाले दर्ता नभयका योजनाहरु अनिवार्य दर्ता गराउन समेत आग्रह गर्नुभयो ।
वडा नम्बर २ का वडा अध्यक्ष चन्द्र बहादुर बुढाले पहिला बस्ती कम हुँदा बनाइएका संरचनाका कारण पछिल्लो समय बस्ती बिस्तार हुँदै गर्दा सहज खानेपानीको पहुँचमा समस्या भएको बताउनुभयो । योजनाको सुचारुपनाका लागि उपभोक्ता पहिला आफै सक्रियरुपमा लग्नु पर्ने भन्दै नसकेको ठाउँ मा वडाले सहयोग गर्ने उहाँले बताउनुभयो । वडा नं. १ का अध्यक्ष हरिमान घलेले खानेपानी योजनाको सुचारुपना र दिगोपनाका लागि उपभोक्ता समिति, वडा र नगरपालिका सबैको उत्तिकै भूमिका हुने बताउनुभयो ।
योजनाहरुको अवस्था बारे तथ्यांक प्रस्तुत गर्दै स्याक नेपालका हेलो धारा परियोजनाका संयोजक नेत्र विक्रम थापाले अधिकांस योजनाहरुको सुचारुपना सन्तोषजनक भएपनि दिगोपनाका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा छलफलपछि विभिन्न पाँच बुँदे प्रतिबद्धता गरिएको छ । सामूहिक प्रतिवद्धता
वडा नं. १ र २ का योजनाहरुको सुचारुपना अवस्था सम्बन्धि तथ्यांक संकलनगरी आवश्यक सुधार गर्ने, दर्ता नभएका समिति र मुहान २०८२ बैशाख भित्र नगरपालिकामा दर्ता गर्ने, साधारणसभा नभएका तथा समय पुगेका समितिहरुको साधारणसभा चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने, टोप्रे खानेपानी तथा सरसफाई योजनाको मुहानमा देखिएको विवाद समाधान गरी योजनालाई व्यवस्थित गर्ने प्रतिबद्धता गरिएको हो । यस्तै वडा नं. २ को चुनियापानी पानी टोलमा खानेपानीको सुनिश्चितता हुनेगरी बृहत खानेपानी आयोजनामा समावेश गर्ने लगायतका प्रतिबतामा गरिएको छ ।