एमाले सुर्खेतको चैत्र २६ मा जागरणसभा, महासचिव पोखरेल सहभागि हुने

जागरण संवाददाता – चैत्र २४, सुर्खेत
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व तथा जनअधिकारको सुदृढीकरणका लागि नेकपा (एमाले) ले सञ्चालन गरिरहेको देशव्यापी जनजागरण अभियान अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा यही चैत्र २६ गते वृहत जनप्रदर्शनसहित जागरणसभा हुने भएको छ।
जिल्ला कमिटी सुर्खेतको आयोजना तथा कर्णाली प्रदेश कमिटीको संयोजनमा हुने उक्त जागरणसभालाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, प्रदेश इञ्चार्ज गोरख बोगटीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आज पत्रकार सम्मेलन मार्फत पार्टीका जिल्ला अध्यक्ष कुलमणि देवकोटाले देशमा वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राखी गणतन्त्र र संविधानमाथि भइरहेका देशी–विदेशी शक्तिहरूका षड्यन्त्रविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जागरणसभा आयोजना गरिएको जानकारी दिनुभयो ।
“सरकारमा रहेर पनि आवश्यक पर्दा सडकमा उत्रनुपर्ने अवस्थालाई आत्मसात गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरूलाई परास्त गर्ने सङ्कल्प गरेको छ। ” प्रेस नोटमा अध्यक्ष देवकोटाले उल्लेख गर्नुभएको छ । उहाँले नेपाली जनताका लागि निरंकुशता, पश्चगमन र वंशगत सामन्ती शासन अस्वीकार्य रहेको प्रस्ट पार्नुभयो ।
जागरणसभा मंगलगढी चोकबाट दिउँसो १ बजे सुरु भई वीरेन्द्रनगर–६ स्थित पिपलचौतारीमा सभामा परिणत हुने एमाले सुर्खेत प्रचार–प्रसार विभाग प्रमुख गंगाराम तिमेल्सेनाले जानकारी दिनुभयो । कार्यक्रममा नाराबाजी, ब्यानर प्रदर्शन तथा सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिनेछ । यस्तै एमाले कर्णाली प्रदेश इञ्चार्ज गोरख बोगटीले लोकतान्त्रिक संविधानको रक्षाका लागि जनताको सहभागिता अनिवार्य रहेको धारणा राख्दै हजारौं कार्यकर्ता, समर्थक र सर्वसाधारणको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
सभामा समसामयिक राजनीतिक अवस्था, संविधानको रक्षा, गणतन्त्रको महत्व, प्रतिगामी शक्तिहरूको षड्यन्त्र र त्यसविरुद्धको प्रतिकार रणनीतिबारे नेताहरूले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
एमालेले लोकतान्त्रिक मूल्य, राजनीतिक स्थायित्व र जनताको सहभागितामार्फत संविधानको रक्षा र सुदृढीकरण गर्ने लक्ष्य लिएको जनाएको छ । पार्टीले जनसाधारण, लोकतन्त्रप्रेमी नागरिक, विभिन्न पेशागत संगठन, विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण सुर्खेतवासीलाई कार्यक्रममा सहभागिता जनाई संविधान र गणतन्त्रको पक्षमा ऐक्यबद्धता प्रकट गर्न आह्वान समेत गरेको छ ।