वैशाख ३, सुर्खेत – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै पक्ष जिम्मेवार बन्नु आवश्यक रहेको बताउनुभएको छ। वीरेन्द्रनगरमा आजदेखि सुरु भएको तीनदिने ‘कर्णाली एजुकेशन एक्स्पो’ को उद्घाटन सत्रमा मन्तव्य दिँदै मन्त्री भण्डारीले शिक्षा क्षेत्रमा वितृष्णा बढ्नुको प्रमुख कारण सम्बन्धित पक्षहरूले आफ्नो भूमिका अनुरूप जिम्मेवारी नपुर्याउनु रहेको धारणा व्यक्त गर्नुभयो।
“ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा आइपुग्दासमेत हाम्रो शिक्षामा समयसापेक्ष सुधार हुन नसक्नु दुःखद् विषय हो,” उहाँले भन्नुभयो, “अबको शिक्षा प्रणाली उत्पादनमुखी हुनु आवश्यक छ।” शिक्षा प्रणालीलाई उत्पादन र सीपमुखी बनाइनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले विद्यालय निर्माण, भर्ना अभियान, गुणस्तरीय शिक्षामा पहुँचलगायतका क्षेत्रमा एकीकृत पहल आवश्यक रहेको बताउनुभयो। विद्यार्थी भर्ना अभियानकै समयमा शिक्षकहरू आन्दोलनमा जानु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै संघीय सरकारसँग शिक्षकहरूको जायज माग सम्बोधन गरी आन्दोलनबाट फिर्ता गराउन उहाँले आग्रह गर्नुभयो। मन्त्री भण्डारीले एक्स्पोमा प्रस्तुत भएका कार्यपत्र र छलफलबाट प्राप्त सुझावलाई आगामी शैक्षिक नीति तथा योजनामा समावेश गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कर्णाली विकास केन्द्रको आयोजनामा सुरु भएको उक्त एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा शैक्षिक प्रदर्शनी, कार्यपत्र प्रस्तुति, सेमिनार तथा विद्यार्थी र शिक्षकबीच संवाद कार्यक्रमहरू सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ।