विद्यालय शिक्षा क्षेत्र योजनालाई स्थानीयकरण गर्नुपर्नेमा जोड

सुर्खेत, १९ बैशाख ।
विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) लाई स्थानीयकरणगरी कार्यान्वयन गनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीइ) ले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको शिक्षामा नागरिक समाजको सहभागिता विद्यालय शिक्षा क्षेत्र योजना स्थानीयकरण सम्बधी कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् । अभियानका पूर्व केन्द्रीय कोषाध्यक्ष टिकाराम आचार्यले विद्यालय शिक्षाको समग्र सुधारका लागि विद्यालय शिक्षा क्षेत्र योजनालाई स्थानीयकरण गर्न जरुरी रहेको बताउनुभयो । यस्तै स्थानीय सरकारले बनाएका योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । एनसीइ कर्णाली प्रदेशका अध्यक्ष भूपेन्द्र कंडेलले विद्यालय शिक्षा सुधारका लागि स्थानीय सरकारले नीति निर्माणसँगै बजेट विनियोजन गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले विद्यालय शिक्षा सुधारका लागि गाउँपालिकाले प्राथमिकतासाथ काम गरिरहेको बताउनुभयो । शिक्षकहरुको तालिम, अपांगता भएका विधार्थीहरुका लागि आवाशीय विद्यालय, शिक्षक तथा प्राधानाध्यापक प्रोत्साहान लगायतका काम गरिरहेको उपाध्यक्ष रेग्मीले बताउनुभयो । आगामी आर्थिक बर्षबाट शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्ने उहाँको भनाइ छ । यस्तै बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि पुनले शिक्षाको समग्र सुधारका लागि विभिन्न योजना बनाई कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । अपांगता भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन आगामी आर्थिक बर्षदेखि आवासीय विद्यालय सञ्चालन गर्ने योजना रहेको उपाध्यक्ष पुनले जानकारी गराउनुभयो ।
कार्यक्रमका सहभागीहरुले सबै बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि स्थानीय सरकारले उचित योजना बनाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।