८१७ प्रतिनिधिसहित वाइसीएल कर्णाली प्रदेशको सम्मेलन वैशाख २९ र ३० गते

 

वीरेन्द्रनगर , वैशाख २७ ।

युवा कम्युनिस्ट लिग, नेपाल (वाइसीएल) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलन यही वैशाख २९ र ३० गते सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ। सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख २९ गते दिउँसो १२ बजे वीरेन्द्रनगर–६, पिपलचौतारामा गर्ने कार्यक्रम रहेको वाइसीएल कर्णाली प्रदेश समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आगामी जेठ १७, १८ र १९ गते काठमाडौंमा हुने वाइसीएल नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको पूर्वतयारीस्वरूप कर्णालीका १० वटै जिल्लामा वडा, पालिका र जिल्ला तहसम्मका सम्मेलनहरू भव्य रूपम सम्पन्न गरिएको वाइसीएल कर्णाली प्रदेश अध्यक्ष  शोभाराम भण्डारीले बताउनुभयो । कर्णाली प्रदेश सम्मेलनमा ७ सय १८ वडा स्तरबाट प्रतिनिधि छनोट भइसकेका छन् भने ९९ सदस्यीय सम्मेलन आयोजक समिति सहित ८ सय १७ जना प्रतिनिधिहरूले सहभागिता जनाउने भएकाछन्। सम्मेलनबाट कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन गरिनेछ भने आगामी नीति तथा कार्यक्रम पारित गरिनुका साथै राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि पनि चयन गरिने बताइएको छ। यस्तै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एबम कर्णाली  प्रदेश इन्चार्ज कालि बहादुर मल्लले वाइसीएलले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, कालोबजारी, अनियमितता र अराजकताविरुद्ध संघर्ष गर्दै सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्न तथा उत्पादन, नवप्रवर्धन र युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताउनुभयो ।