विशेषज्ञ स्वाथ्य सेवा र औषधि वितरण वीरेन्द्रनगर जेसीजद्वारा निःशुल्क

नवराज रोकाय
वीरेन्द्रनगर, वैशाख २८
विपन्न तथा पछाडि पारिएका नागरिकहरूको स्वास्थ्य क्षेत्रमा सहज पहुँच र प्रभावकारी बनाउने उद्देश्यले वीरेन्द्रनगर जेसीज, सुर्खेतले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । मेटलाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी) को सहकार्यमा आयोजना हुन लागेको उक्त शिविर आगामी जेठ ३ गते वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा सञ्चालन गरिने भएको हो ।
आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत शिविरका संयोजक तथा वीरेन्द्रनगर जेसीज वर्ष २०१९ का पूर्वअध्यक्ष श्याम कुमार थापाले शिविर सम्बन्धी जानकारी दिँदै शिविर आगामी जेठ ३ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ, जसमा विशेषज्ञ चिकित्सकहरूमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरीनेभएको छ ।
संयोजक थापाले शिविर केवल उपचारको लागि मात्रै नभई नागरिकमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्न र रोगको प्रारम्भिक अवस्था पहिचान गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयोजक थापाका अनुसार रक्तचाप, रगतमा चिनीको मात्रा, दन्त परीक्षण, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी तथा सामान्य स्वास्थ्य परीक्षणसहित परामर्श सेवा प्रदान गरिनेछ । साथै, स्वास्थ्य चेकजाँचका क्रममा आवश्यक बिरामीको अबस्था अनुसार एक महिनासम्मका लागि निःशुल्क औषधि वितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।
शिविरमा डा. परश पौडेल ( कान, नाक, घाँटी ), डा. शुभ श्रेष्ठ (हाडजोर्नी ), डा. कृतिका थापा श्रेष्ठ (स्त्री रोग), डा. कुलराज शाही (फिजिसियन), र डा। सुरक्षा सिंह ठकुरी (दन्त तथा ओर्थोडन्टिक्स ) जस्ता विशेषज्ञहरूमार्फत स्वाथ्य सेवा प्रदान गरीनेछ।
वीरेन्द्रनगर जेसीजका अध्यक्ष  दिलिपजंग शाहिका अनुसार शिविर सञ्चालनमा करिब ३ लाख रुपैयाँ बराबरको लागत लाग्नेछ, जसमा मेटलाइफ कम्पनीले आर्थिक सहयोग गरेको छ । उहाँले औषधि व्यवस्थापनका लागि अनुमानित २ लाख ५० हजार रुपैयाँ र शिविर सञ्चालन र व्यवस्थापनतर्फ ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

शिविरमा ३ सय जनालाई स्वाथ्यसेवा दिइने लक्ष्य राखिएको छ । विषेशगरी वीरेन्द्रनगर–११ स्थित झुप्राखोला किनारको बादीबस्ती र बराहताल गाउँपालिका–८ स्थित गीरीघाट क्षेत्रमा रहेको बाढीपीडित बस्तीका नागरिकलाई शिविरस्थलसम्म र्पुयाउनको लागि निःशुल्क यातायातको व्यवस्था गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरिने र परीक्षणका लागि कुनै शुल्क नलाग्ने तथा औषधिसमेत निःशुल्क रुपमा वितरण गरिने भएकाले यो अवसरको भरपूर उपयोग गर्न आम सर्वसाधारणमा आयोजकले आग्रह गरेको छ।