सुर्खेत, ६ साउन (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी–बबइ डाइभर्सन वहुउद्धेश्यीय आयोजनाको निरीक्षण गर्नुभएको छ ।
निर्माणाधीन अवस्थामा रहेको आयोजनाको सुरुङ भित्रै पसेर मुख्यमन्त्री शाहीले अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
निरीक्षणपछि मुख्यमन्त्री शाहीले यो आयोजना प्रदेशका लागि नमूना भएको भन्दै यसको अनुभव अन्य आयोजनाका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
भेरी नदिको पानीलाई १२ किलोमिटर सुरुङ्ग मार्फत बवइमा डाइभर्सन गरी बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिचाइँ सुविधा र्पुयाउने र ४६ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ ।
आयोजना निरीक्षणका क्रममा आयोजना निर्देशक शिवकुमार वस्नेतले १२ किलोमिटर लामो सुरुङ्ग मध्ये हालसम्म पाँच हजार ८ सय ५० मिटर सुरुङ्ग निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले लक्ष्य अगावै निर्माण कार्य पूरा हुने बताउनुभयो ।