सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने

जेठ २, काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको हिजोको बैठकले सप्ताहव्यापी कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू तय गरेको छ । कार्यक्रममा हिमाली पदयात्रा, सांस्कृतिक प्रदर्शनी, सरसफाइ अभियान, अन्तरक्रिया गोष्ठी, फोटो प्रदर्शनी तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधि समावेश गरिने छ ।
बैठकले कीर्तिमानी सगरमाथा आरोहीहरूलाई सम्मान गर्न पर्यटन विभागका महानिर्देशक डा.नारायण रेग्मीको संयोजकत्वमा सिफारिश समिति गठन गरेको छ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस हरेक वर्ष मे २९ तारिखमा मनाउने गरिन्छ, जुन दिन सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।