सुर्खेत,९ जेठ ।
कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुक्रबार पनि कामकाज रोकेर धर्ना दिएका छन् ।
स्थानीय सेवा ऐन संशोधनको माग राख्दै चरणबद्ध आन्दोलन थालेका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले विहीबारदेखि अत्यावश्यक सेवा बाहेकका काम रोकेर मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका छन् ।
आन्दोलनरत कर्मचारीहरुले शुक्रबार सुर्खेतको कालिन्चोकबाट ¥याली निकाली कर्णाली प्रदेशसभा बाहिर पुगेर नाराबाजी गरेका छन । त्यसपछि मुख्यमन्त्री कार्यालयमा धर्ना बसेका थिए ।
कर्णाली प्रदेश सरकारले यसै बर्ष जारी गरेको स्थानीय सेवा ऐनमा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरिएको भन्दै कर्मचारीहरुले संशोधनको माग राख्दै आएका छन् । स्थानीय तह कर्मचारी सञ्जाल कर्णाली प्रदेशले ऐन जारी भए लगत्तै पौष २९ गते देखि संसोधनको लागि कर्णाली प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । प्रदेश सरकारले ऐन संशोधन गर्नका लागि चैतमा प्रदेश सभमा संशोधन बिधेयक दर्ता गराएपछि सञ्जालले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । ऐन संशोधन नगरी हिउदे अधिवेशन सकिएकोमा बर्षे अधिवेशनको सुरुमै ऐन संशोधन गर्नुपर्ने कर्मचारीहरुको माग थियो ।
तर प्रदेश सरकारले विधेयक फिर्ता लिएपछि कर्मचारीहरुले जेठ १ गतेबाट पुन आन्दोलन थालेका हुन् । संशोधनमा नमिलेका विषय मिलाउने भन्दै प्रदेश सरकारको बैशाख २६ गते बसेको मन्त्री परिषद बैठकले प्रदेशसभाबाट विद्येयक फिर्ता लिने निर्णय गरेको थियो ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुले ऐन संशोधन नभएसम्म काममा नफिर्किने बताउँदै आएका छन् ।
आन्दोलनरत कर्मचारीहरुले स्तरबृद्धिमा ऐन जारी हुनुपूर्व काम गरेको आधारमा भौगोलिक क्षेत्रको मापदण्ड हटाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।