कर्णाली प्रदेशको जीडिपीमा झिनो सुधार, प्रति व्यक्ति आयमा बृद्धि, राष्ट्रिय योगदानमा ह्रास

जागरण संवाददाता ।
सुर्खेत, १२ जेठ ।
कर्णाली प्रदेशको कुलग्राहस्त उत्पादन (जीडिपी) मा झिनो बृद्धि हुने अनुमान गरिएको छ ।
तथ्यांक कार्यालय सुर्खेतले सोमबार सार्बजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को तथ्यांक अनुसार गत बर्षको तुलनामा ११ अर्ब बृद्धि हुने अनुमान गरिएको छ । यस बर्षका कुलग्राहस्थ उत्पादन करिब रु. २ खर्ब ५६ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आर्थिक वर्ष २०८०÷८१ मा करिब रु. २ खर्ब ४५ अर्ब रहने संशोधित अनुमान रहेको छ । तर सात प्रदेश मध्य कर्णालीको कुलग्रास्त उत्पादन सबै भन्दा कम्जोर हो । सबै भन्दा धेरै वागमती प्रदेशको कुलग्राहस्थ उत्पादन रहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेश (५.५१ प्रतिशत) मा र त्यसपछिको धेरै वागमती प्रदेश (५.१८ प्रतिशत) मा देखिन्छ। त्यसैगरी, सबैभन्दा थोरै वृद्धिदर सुदूरपश्चिम प्रदेश (३.३२ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान रहेको छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकि प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।
यस्तै चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । यो भने गत बर्षको तुलनामा कमी हो । गत आर्थिक वर्ष २०८०÷८१ मा कर्णालीले ४.२९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ ।
यस्तै चालु आर्थिक वर्षमा उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर भने बृद्धि भएको छ । यस बर्ष ४.७४ प्रतिशत बृद्धि हुने प्रारम्भिक अनुमान छ भने गत आर्थिक वर्ष २०८०÷८१ मा ३.२६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको ३१.५० प्रतिशत रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्रको ०.१७ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । गत गत आर्थिक वर्ष २०८०÷८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र ३०.१ प्रतिशत सहित अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१७ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ ।
कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्रको १०.४५ प्रतिशत र सबैभन्दा थोरै खानी तथा उत्खनन् क्षेत्रको १.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २१.७ प्रतिशत र सबैभन्दा थोरै निर्माण क्षेत्रको –१.१६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
प्रतिव्यक्ति आय राष्ट्रिय औषत भन्दा कम
आर्थिक वर्ष २०८१÷८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यु.एस. डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदूरपश्चिम प्रदेशको ११५.३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा १४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसावले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको तथ्यांक कार्यालय सुर्खेतका तथ्यांक समन्व्य अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो ।