कर्णालीका ठूला पूर्वाधार परियोजना अघि बढ्दै, पर्यटन र ऊर्जा क्षेत्र सरकारको प्राथमिकतामा

नवराज रोकाय

१५ जेठ सुर्खेत, – आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय बजेटमार्फत कर्णाली प्रदेशका पूर्वाधार, ऊर्जा, पर्यटन र सामाजिक सेवा क्षेत्रलाई प्राथमिकता दिइएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुहुदै सुर्खेतको भेरी पम्पिङ खानेपानी आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो। यस्तै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड रुपैयाँ छुट्याइएको छ।
फुकोट कर्णाली र मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण थालनी गरिनेछ भने कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्षभित्र सम्पन्न गरिने जनाइएको छ।
त्यसैगरी, भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्क्स र पावरहाउस निर्माणका लागि २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। कर्णाली कोरिडोर अन्तर्गत हिल्सा–सिमकोट र खुलालु–पिलुचौर–तुम्च सडक स्तरोन्नतिका लागि १ अर्ब २७ करोड रुपैयाँ छुट्याइएको छ। साथै, सुर्खेत–खुलालु–कालिकोट–जुम्ला र सुर्खेत–महावुलेक–नाग्मा–गमगढी सडक स्तरोन्नति गरिनेछ भने ताल्चा–रारा सडक कालोपत्रे गरिने भएको छ।
भेरी कोरिडोर, रत्न राजमार्ग, बबई–छिन्चु सुरुङमार्ग र रानीघाट–भुरिगाउँ, हात्तिसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन पनि अघि बढाइने भएको छ।
कर्णालीका मध्य तथा उच्च पहाडी जिल्लामा उच्च मूल्यका बालीहरू प्रवर्द्धन गर्ने कार्यक्रम ल्याइएको छ। दैलेखमा गरिएको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न भइसकेको छ र नमुना परीक्षण प्रतिवेदनका आधारमा व्यावसायिक उत्पादन सुरु गरिने जनाइएको छ।
बर्दिया–रारा पदमार्ग र रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा भेरी र कर्णाली नदीमा फिङ पर्यटन विस्तार पनि बजेटको प्राथमिकतामा रहेको छ।
सुर्खेत प्रादेशिक विमानस्थलको निर्माण पूर्वतयारी सम्पन्न गरी अब निर्माण कार्य थालनी गरिने छ। सुर्खेतमा निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको पहिचान, उपचार र पुनर्स्थापनाका लागि सेवा प्रारम्भ गरिने पनि बताइएको छ।
जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिनेछ भने दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवार्य उद्धार सेवा यथावत् जारी रहने बताइएको छ।