सुर्खेतमा खुला दौड प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार नगदसहित सम्मान गरिने

नवराज रोकाय
जेठ १८, वीरेन्द्रनगर – खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यसहित मदन भण्डारी स्पोर्टस् एकेडेमीले “मदन भण्डारी कप खुला दौड प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ।

“सबैका लागि खेल” भन्ने नारासहित २०६६ साल पुष १७ गते स्थापना भएको एकेडेमीले आफ्नो स्थापना कालदेखि नै स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका खेल गतिविधिमा सक्रियता जनाउँदै आएको छ।

आगामी जेठ २४ मा सुर्खेतको वीरेन्द्रनगरमा खुला दौड प्रतियोगिता आयोजना गरिने एकेडेमीका कार्यक्रम संयोजक तेज विक्रम बस्नेतले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो।

बिहान ७ बजेबाट सुरु हुने प्रतियोगितामा १० किलोमिटर दूरीको खुला दौड (महिला तथा पुरुष) र ५ किलोमिटर दूरीको विद्यालयस्तरीय अण्डर–१८ (छात्र–छात्रा) का लागि दौड सञ्चालन गरिने आयोजकले जनाएको छ। विद्यालयस्तरको प्रतिस्पर्धा कर्णाली प्रदेशका लागि मात्र सीमित हुने संयोजक बस्नेतले बताउनुभएको छ।

प्रतियोगितामा सहभागी जनाउनका लागि जेठ २२ गतेसम्म अन्तिम नाम दर्ता गरिसक्नुपर्ने र सहभागिता जनाउनका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।

नाम दर्ताका लागि नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो अनिवार्य रहेको छ भने विद्यालय तहका प्रतियोगीका लागि विद्यालयको सिफारिस पत्र र विद्यार्थी परिचयपत्र पनि आवश्यक हुने आयोजक संस्थाले जनाएको छ।

१० किलोमिटर खुला दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार, चौथोले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्।

त्यसैगरी, विद्यालयस्तरीय ५ किलोमिटर दौडमा पनि प्रथम हुने छात्र तथा छात्राले समान पुरस्कारस्वरूप प्रथम स्थान हासिल गर्नेले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार, चौथोले ५ हजार र पाँचौँ स्थान हासिल गर्नेले ३ हजार रुपैयाँ प्राप्त गर्ने छन्। साथै, छैटौँदेखि दशौँ स्थानसम्म हुनेले समानरूपमा जनही १ हजार रुपैयाँ नगद प्राप्त गर्ने भएका छन्।