कर्णालीका तीन जिल्लामा मौरी प्रवर्धन कार्यक्रम सञ्चालन गरिने

नवराज रोकाय

सुर्खेत, जेठ २२

नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशले मौरी व्यवसायको प्रवर्धन गर्न कर्णालीका तीन जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजीत मौरी प्रबद्र्धन कार्यक्रमको जानकारी तथा अन्र्तक्रिया कार्यक्रममा नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले आगामी आर्थिक बर्ष २०८२/०८३ मा मौरीपालन प्रवर्धन कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गर्नुभएको हो ।

महासंघले कर्णाली प्रदेशका दैलेख, जाजरकोट र सुर्खेत जिल्लामा मौरी पालक किसानहरुलाई लक्षित गर्दै कार्यक्रम संचालन गर्ने भएको छ ।
अध्यक्ष ढकालले मौरी व्यवसायमा नयाँ कृषकहरूको प्रवेशलाई प्रोत्साहन गर्ने र आवश्यक तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउने योजना महासंघले बनाएको बताउनुभयो । उहाँले कर्णालीलाई महमा आत्मनिर्भर बनाउने, उत्पादनमा वृद्धि गर्ने र बजारीकरणको प्रक्रिया सुदृढ बनाउने कार्यक्रमको उद्देश्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालनका लागि कूल अनुमानित बजेट २ करोड ३ लाख ५२ हजार ५ सय ३३ रहेको छ । जसमा हेल्भेटास नेपालको इन इलम परियोजनाबाट ४९ लाख ८० हजार ७ सय ८३, निजी क्षेत्रबाट ९९ लाख ११ हजार ७ सय ५० र स्थानीय सरकार तथा प्रदेश सरकारबाट ५४ लाख ६० हजार रहेको छ ।
अध्यक्ष ढकालका अनुसार कार्यक्रममा एकल महिला, विपन्न वर्ग, सिमान्तकृत वर्ग र वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्ने योजना बनाइएको छ ।
कार्यक्रममा कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको एकीकृत कृषि प्रयोगशाला प्रमूख चित्र रोकायाले कर्णालीमा मौरी पालकहरूको वास्तविक तथ्यांक संकलनमा कठिनाइ रहेको र कर्णालीमा मह उत्पादनको स्थिति सुधार्न थप काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रमूख रोकायाले लुम्बिनी प्रदेशको दाङ, बर्दिया लगाएतका जिल्लाहरुबाट कर्णालीमा करोडौं मूल्य बराबरको मह बर्षेनी आयात हुने गरेको दाबी गर्दे कर्णाली प्रदेशमा पनी मह उत्पादन बढाउन र बजारीकरणमा विशेष ध्यानदिनु पर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले जाजरकोटमा रहेको ज्वाला सहकारीलाई सरकारले ५ सय किलोग्रामको मह प्रशोधन मेसिन वितरण गरेको तर मह प्रशोधन मेसिन प्रयोग बिहिन रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
प्रमूख रोकायाका अनुसार अहिले मौरी किसानहरूले दाङ र बर्दिया जस्ता बाह्य जिल्लामा लगेर मौरी चराउने गरेको र आगामीदिनमा महासंघले कर्णाली प्रदेशभित्रै मौरीचरन क्षेत्रको प्रवर्धनका लागि पहल गर्नुपर्ने सुझाब व्यक्त गर्नुभयो ।