जेठ २३, काठमाण्डौ । हिजो बेलुकादेखि बिहानसम्म देशका विभिन्न ठाउँमा पानी परिरहेकामा अहिले भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै छ । कोशी प्रदेशका धेरै ठाउँमा भने मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर कतै पनि बाढी आउने गरी ठूलो पानी भने नपर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो ।
आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी कम पर्ने उहाँको भनाइ छ । महाशाखाले १० मिलिमिटरसम्मलाई हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भन्ने गरेको छ । ५० मिलिमिटरभन्दा धेरै तर एक सय मिलिमिटरभन्दा कमको वर्षा भएमा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ ।