सुर्खेतमा ट्रक र फोर्स गाडी ठोक्किँदा ८ जना घाइते

सुर्खेत, जेठ २४ ।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको ट्रक ठोक्किँदा सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित रत्न राजमार्गमा शनिबार अर्थात आज साँझ दुर्घटना भएको छ।
दुर्घटना साँझ करिब सवा ७ बजे भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ। क.प्र.०२००१ ख ०८५० नम्बरको फोर्स गाडी र सु.प.प्र.०१००१ ख २९३४ नम्बरको ट्रक एक आपसमा ठोकिदा फोर्स गाडीमा सवार यात्रु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार फोर्स गाडीमा ११ जना सवार रहेका थिए। सवारमध्ये ८ जना घाइते भएका छन्। तीमध्ये ३ जना सकुशल रहनुभएको छ भने अन्यको अवस्था सामान्य रहेको छ। सबै घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको डिएसपी बुढथापाले बताउनुभयो।
उहाँका अनुसार फोर्स गाडीका चालक तेज बहादुर कार्की, बिरेन्द्रनगर १० सुर्खेतका भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रक चालक चुरे गाउँपालिका ६ कैलालीका टेकबहादुर राउत लाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
घाइते हुनेहरूमा भेरीगंगा नगरपालिका–१०, सुर्खेतकी लक्ष्मी घर्ती, सोही नगरपालिका १२ कि मनि राजी,वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतका दिनेश पुलामी मगर, टिकापुर नगरपालिका–७, कैलालीकी नरिसरा थापा
र सोही नगरपालिकाका दिपेन्द्र थापा सामान्य घाइते हुनुभएको छ। उहाँहरूको उपचार कोहलपुरस्थित मेडिकल कलेजमा भइरहेको छ। घटनापछि इलाका प्रहरी चौकी बबईबाट प्रहरी निरीक्षक कुम्मेर शाहीको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। हाल दुर्घटनास्थलमा सवारी आवागमन एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।