जेठ २७, सुर्खेत । कर्णाली सरकारको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । सरकारले बुधबार प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका छन् । २ दिनसम्म छलफल चलेको नीति तथा कार्यक्रममाथि २३ जना प्रदेशसभा सदस्यले आफ्नो भनाइ राखेका थिए ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक अस्थिरताका बीचबाट पनि कर्णालीलाई समृद्ध बनाउने उद्देश्यसहित सरकार अघि बढेको बताए । प्रदेशसभाबाट पारित भएको नीति–कार्यक्रमकै आधारमा सरकारले आगमी बजेट बनाउने उनको भनाइ छ । सरकारले प्रदेश समृद्धिको आधारका रूपमा रहेको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ । गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको विकास गर्ने, शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई रोजगारी र रोजगारीलाई गरिबी निवारणमा अन्तरआबद्धता कायम गर्ने भनिएको छ । यस्तै कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण र विविधीकरण गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातमा प्रोत्साहन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।