जाउँ है पोखरा अभियान सुर्खेतमा – कर्णालीमा पर्यटन सहकार्यको आह्वान

नवराज रोकाय
१ असार सुर्खेत,  
नेपालको पर्यटकीय राजधानी पोखराका होटलहरूको साझा संस्था होटल संघ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै सञ्चालन गर्दै आएको ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत प्रचारात्मक टोली आज सुर्खेतको वीरेन्द्रनगर आइपुगेको छ।
गत जेठ २९ बाट सुरु भएको यो अभियान बुटवल, नेपालगञ्ज हुँदै आज चौथो दिनमा सुर्खेत आइपुगेको हो।
संघले यसअघि पूर्वी नेपालका विभिन्न शहरहरूमा यस्तै अभियान सम्पन्न गरिसकेको छ भने अहिलेको अभियानले पोखराबाट पश्चिम नेपालतर्फ पर्यटक प्रवाह बढाउने र पश्चिम नेपालका पर्यटकलाई पोखरा आमन्त्रण गर्ने लक्ष्य लिएको छ। अभियान अन्तर्गत टोली बुटवल, नेपालगञ्ज, सुर्खेत र दाङमा पुग्नेछ।
पोखरा भ्रमणका लागि निमन्त्रणा दिन सुर्खेत आइपुगेको टोलीसँगको कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पोखरा र कर्णालीका पर्यटकीय स्थलहरूलाई जोड्नुपर्नेमा जोड दिनुभयो।
कर्णालीमा अद्भूत प्राकृतिक सम्पदा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले प्रदेश सरकारले पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि काम गरिरहेको जानकारी दिनुभयो। उहाँले कर्णालीमै मात्र रहेको लोपोन्मुख राउटे जातिको सर्किट अध्ययन अघि बढाइएको बताउँदै, गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूलाई कर्णालीमा व्यवसाय विस्तार गर्न आग्रह गर्नुभयो। अब गफभन्दा पनि काम गर्नुपर्ने बताउँदै, मन्त्री भण्डारीले कर्णालीमा उद्योग सञ्चालनको खाँचो औँल्याउँदै लगानीकर्तालाई आवश्यक सहयोग प्रदेश सरकारले गर्ने विश्वास दिलाउनुभयो।
त्यस्तै, कर्णाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले पुष्पलाल लोकमार्ग र मध्यपहाडी राजमार्गबाट पर्यटन प्रवद्र्धनमा लाभ लिनुपर्ने धारणा राख्नुभयो।उहाँले सुर्खेत–पोखरा हवाई मार्गको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै, हाल पर्यटन बोर्डका सिईओ कर्णालीकै भए पनि त्यसको लाभ लिन नसकिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।
शाहीले कर्णालीका सम्भावित पर्यटकीय क्षेत्रको व्यवस्थापन, सडक सञ्जाल विस्तार, पूर्वाधार निर्माण र गन्तव्यअनुकूल योजना निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो। अभियानका क्रममा सुर्खेत आइपुग्नुभएका संघका अध्यक्ष लक्ष्मण सुवेदीले स्वदेशी पर्यटक नै दिगो पर्यटनको मेरुदण्ड हुन् भन्ने मान्यताका साथ सन् २००३ देखि अभियान सुरु गरिएको जानकारी दिनुभयो।
विगत दुई दशकदेखि निरन्तरता दिइँदै आएको अभियानले आन्तरिक पर्यटकलाई लक्षित गर्दै स्थानीय पर्यटनको दिगोपनमा योगदान दिँदै आएको उहाँले बताउनुभयो।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालनमा आएको अभियानले यसलाई थप संस्थागत बनाएको उहाँको भनाइ थियो।
संघका अध्यक्ष सुवेदीका अनुसार पोखरामा हाल ५ खर्ब रुपैयाँ बराबरको होटल क्षेत्रमा लगानी, १२ सयभन्दा बढी होटल, हजारौँ बेड, र करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
संघले भाइटिका महोत्सव, नयाँ वर्ष फेवा महोत्सव, अन्तर्राष्ट्रिय खाना महोत्सव लगायतका कार्यक्रम सञ्चालन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान दिँदै आएको छ।
अध्यक्ष सुवेदीले सुर्खेत–पोखराका पर्यटन व्यवसायीहरूबीच सहकार्य गर्दै कर्णालीमा आन्तरिक पर्यटन प्रवद्र्धनमा सशक्त योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
पोखरामा उपलब्ध बञ्जी जम्प, प्याराग्लाइडिङ, केबलकार, मठ–मन्दिरको आरती, अल्ट्रालाइट फ्लाइट जस्ता दर्जनौँ साहसिक र सांस्कृतिक गतिविधिहरू रहेको उल्लेख गर्दै, कर्णालीका बासिन्दालाई पोखरा भ्रमणमा आउन निमन्त्रणा दिनुभयो।