नवराज रोकाय
सुर्खेत, असार ४
सुर्खेतको वीरेन्द्रनगर–१ मा रहेको कोपिला भ्याली स्कूललाई सन् २०२५ का लागि प्रदान गरिने World’s Best School Prizes अन्तर्गत वातावरणीय कार्य श्रेणीमा उत्कृष्ट १० विद्यालयको सूचीमा चयन गरिएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरी कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले सो कुराको जानकारी गराउनुभएको हो ।
कोपिला भ्याली स्कूलले ‘ग्रीन स्कुल क्याम्पस’ अभियान मार्फत वातावरणीय दिगोपनालाई शिक्षा प्रणालीको अभिन्न अङ्ग बनाउँदै आएको छ । विपन्न र कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस गैरनाफामूलक स्वतन्त्र विद्यालयले वातावरणीय शिक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरमा यो उपलब्धि हासिल गरेको हो ।
T4 Education को नेतृत्वमा सञ्चालित यो पुरस्कार कार्यक्रम सन् २०२२ मा कोभिड महामारीपछि सुरु गरिएको हो । पाँच विधामा प्रदान गरिने उक्त पुरस्कार अन्तर्गत समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता, र स्वस्थ जीवनशैलीमा आधारित विद्यालयहरूको छनोट प्रक्रिया हुँदै आएको छ । नेपालबाट अहिलेसम्म कुनै पनि विद्यालय यस अन्तिम प्रतिस्पर्धी सूचीमा पुग्न नसकेको सन्दर्भमा, कोपिला भ्याली स्कूलको यो छनोटले समग्र नेपाली शिक्षा क्षेत्रकै प्रतिष्ठा बढाएको छ ।
यो प्रतियोगितामा उत्कृष्ट ५० विद्यालयमध्येबाट एक विद्यालयलाई सार्वजनिक मतदानका आधारमा Community Choice Award पनि प्रदान गरिने भएको छ ।
विजेता विद्यालयहरूको घोषणा सन् २०२५ को अक्टोबरमा गरिनेछ । साथै, सबै अन्तिम प्रतिस्पर्धी विद्यालयलाई यस वर्ष नोभेम्बर १५–१६ मा अबुधाबी, यूएईमा आयोजना हुने World Schools Summit मा आमन्त्रित गरिनेछ, जहाँ उनीहरूले आफ्नो अनुभव नीति निर्माताहरूसँग साझा गर्ने अवसर पाउनेछन्। ।
सार्वजनिक मतदान आजै विहान ११ बजेबाट खुल्ला भइसकेको छ । मतदान गर्न कोपिला भ्याली सेवा समाजको वेवसाइड मा गएर गर्न सकिने भन्दै सम्पूर्णमा मतदानका गरी सहयोग गरीदिन निर्देशक मल्लले आग्रह समेत गर्नुभएको छ ।