असार १९, काठमाण्डौ । सरकारले यो वर्ष ६० हजार जनाभन्दा धेरैमा डेङ्गी संक्रमण हुने अनुमान गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर डेङ्गीको सम्भावित जोखिमबारेमा जानकारी गराएको हो ।
कार्यक्रममा महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गी फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गी संक्रमण तीव्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गर्नुभयो । महाशाखाको तथ्याङ्क अनुसार यस वर्ष अहिलेसम्म ७३ जिल्लामा फैलिसकेको डेङ्गीबाट एक हजार छ सय जना भन्दा धेरै संक्रमित भइसकेका छन् । उहाँले डेङ्गी नियन्त्रणका लागि सबैभन्दा ठूलो भूमिका पालिकाको भएको उल्लेख गर्दै उहाँले पालिकासँग समेत समन्वय र सहकार्य भइरहेको बताउनुभयो ।
एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग, सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ । यद्यपि जलवायु परिवर्तनको प्रभावस्वरुप गएको दशकयता देशका पहाडी भू–भागमा समेत विस्तार भएको छ ।
डेङ्गी रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेसीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुने समेत हुन्छ । साउनदेखि कात्तिक अन्तिमसम्म डेङ्गी संक्रमण बढ्ने उच्च जोखिम उच्च रहन्छ ।