शिक्षामा नविनतम सुधारको खाँचो छ ः मुख्यमन्त्री कंडेल


सुर्खेत, १० साउन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले वर्तमान शिक्षा प्रणालीलाई नवीनतम सुधार आवश्यक रहेको बताउनुभएको छ ।
वीरेन्द्रनगर १२ स्थित अमरज्योति माध्यामिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा आज मुख्यमन्त्री कंडेलले अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशिल बनाउने भन्दै शिक्षामा सुधार आवश्यक रहेको औल्याउनुभएको हो ।
मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेकोमा जोड दिनुभयो । “हामी अझै पनि परम्परागत शिक्षण पद्धतिमा अडिएको छौँ, जहाँ विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राख्छन्’ मुख्यमन्त्री कंडेलले भन्नुभयोे, ‘अब हामीले व्यवहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्नुपर्छ ।” मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “शिक्षामा रूपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै त्यसका लागि शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
कर्णाली प्रदेशका हिमाली तथा पहाडी भेगका विधालयमा विधार्थी संख्या घट्दोक्रममा छ भने प्रदेश राजधानी वीरेन्द्रनगरका ठूला विद्यालयमा अत्यधिक चाप छ । बसाई सराई, कामका लागि झर्ने अभिभावकसँग आउने र राम्रो पढाईको खोजिमा विधार्थीहरु वीरेन्द्रनगर आउने गरेका छन् । विधार्थीको चाहाना हुँदा हुँदै पनि भौतिक संरचा, शिक्षक दरबन्दी लगायतको अभावमा यहाँका ठूला विधालयले भने सिमित बिधार्थीलाई मात्रै भर्ना लिने गरेका छन् । विशेषगरी कक्षा ६ देखि १० सम्म प्रवेश परीक्षामा पतिस्पर्धा गराएर तोकिएको संख्यामा मात्रै विधार्थी भर्ना पाउछन । हिमाली तथा पहाडी क्षेत्रका विधालय खाली हुने र राजधानीका विधालयमा विधार्थीले भर्ना नपाउने विषय प्रदेश सरकारका लागि पनि चुनौतीका रुपमा खडा छ ।
पछिल्ला बर्षमा यसै कुरालाई मध्यनजरगरी कर्णाली प्रदेश सरकारले प्रदेश राजधानीका ठूला विधालयमा भौतिक संरचना निर्माणका योजना अघि सारेको छ । यसै योजना अन्तर्गत वीरेन्द्रनगर १२ मा रहेको अमर ज्योति माध्यामिक विद्यालयमा ३३ कोठे शैक्षिक तथा प्रशासनिक भवन निर्माण सुरु गरिएको हो । डेढ बर्ष भित्र निर्माण सक्नुपर्नेगरी भवन निर्माणका लागि शिक्षा विकास निर्देशनालय सुर्खेतले ठेक्का लगाएको छ ।
पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ ४६ पैसा जम्मा लागतमा श्रीमन कन्स्ट्रक्सन हेटौँडा उ.म.न.पा.६ मकवानपुरले भवन निर्माणको ठेक्का लिएको छ । यही असार २२ गते सम्झौता भएको उक्त भवन २०८३ पुष १५ गते सम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।
शिलान्यसका क्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पालिकाका केन्द्र, जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा आवाशियसहितका ठूला विधालय निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।
अमरज्योति सहित वीरेन्द्रनगरमा रहेका जन माध्याविक विद्याल, श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम, भैरव मावि भैरव स्थान, लगायतका विद्यालयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुने विधार्थीको संख्या उल्लेख रहेको छ । ती विद्यालयले कक्षा कोठा लगायत भौतिक पूर्वाधार र जनशक्तिले धान्न नसक्ने भन्दै निश्चित संख्यामा मात्रै विधार्थी भर्ना लिने गरेका छन् । विधार्थी शिक्षक अनुपात उच्च भएका प्रदेश राजधानीका सामुदायिक विधालयहरुलाई शिक्षक सहयोग अनुदान स्वरुप यस बर्ष शिक्षा विकास निर्देशनालयले २४ लाख रुपैँया विनियोजन गरेको छ । अनुदान र भौतिक पूर्वाधारका लागि प्रदेश सरकारले दिएको रकम प्रर्यात नभएको विधालयहरुले बताउँदै आएका छन् । विधार्थीको चाप अनुसार विशेष कार्यक्रम बनाएर रकम विनयोजन गर्नुपर्ने अमरज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेलले बताउनुभयो ।