श्रीकृष्ण जन्माष्टमी मनाईँदै

साउन ३१, काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
यस अवसरमा आज कर्णालीमा प्रदेशस्तरीय श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रतियोगिता हुने भएको छ । नेपाली कला, संस्कृति, धर्म, पर्व र रीतिरिवाजको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउँदै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने तयारी समितिले गरेको छ ।
समितिका महासचिव ललित भट्टराईका अनुसार प्रतियोगितामा विभिन्न विधामा आकर्षक पुरस्कार राखिएको छ । प्रथम पुरस्कार १,०१,०००, द्वितीय ५०,५०० र तृतीय २५,०२५ निर्धारण गरिएको छ । त्यस्तै उदयमान लाखे, उत्कृष्ट लाखे, उत्कृष्ट भक्क, उत्कृष्ट तरवार चालक र उत्कृष्ट रथको लागि छुट्टाछुट्टै ११,००० पुरस्कार दिइनेछ ।
कार्यक्रमका लागि ध्वनि प्रणालीमा ५०,०००, टेन्ट–पन्डालमा ३०,०००, निर्णायकका लागि रु १५,०००, स्वयम्सेवक व्यवस्थापनमा ३०,०००, मायाको चिनो छपाइ तथा प्रकाशनमा रु २१,०००, प्रचार–प्रसार तथा लाइभ टेलिकास्टमा ४०,००० र विविध सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा ८२,४७५ खर्च हुने अनुमान गरिएको छ ।
समग्रमा पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त कार्यक्रमलाई कर्णाली प्रदेश सरकारले पनि अपनत्व ग्रहण गरी आवश्यक व्यवस्थापन खर्चको सहयोग गर्न समिति आग्रह गरिसकेको छ ।