कर्णालीका चार जिल्लामा स्वास्थ्य संस्थाको स्वच्छता अभिवृद्धिका लागि परियोजना सञ्चालन

सुर्खेत ।

स्वास्थ्य संस्थामा स्वच्छता अभिबृध्दी गर्न कर्णाली प्रदेशका विभिन्न चार जिल्लामा कार्यक्रम सञ्चालनमा आएको छ ।

द पेण्डेमिक, कोरीया र यूनीसेफको सहयोगमा रुकुमेली समाज विकास केन्द्रले स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार, संक्रमण नियन्त्रण, प्रयोगशाला तथा पानी र फोहरपानीको गुणस्तर परीक्षण निगरानी, तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँगको उक्त कार्यक्रम सुर्खेत, दैलेख, मुगु र जाजरकोटमा सञ्चालन हुनेछ । कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अस्पताल जाजरकोट र मुगु जिल्ला अस्पताल तथा वीरेन्द्रनगर र दुल्लु अस्पतालसँगै केही स्वास्थ्यचोकीको सुधार गरिने छ ।

आज वीरेन्द्रनगरमा प्रदेशस्तरीय परियोजना परिचयात्मक कार्यक्रम मार्फत परियोजनाबारे जानकारी दिइएको हो । पानीको गुणस्तर र फोहरपानी (वेस्टवाटर) अनुगमन र निगरानी गर्ने राष्ट्रिय र स्थानीय क्षमतामा वृद्धि गरि स्वास्थ्य जोखिमहरूको समयमै पहिचान र प्रकोप प्रतिकार गर्ने क्षमताको विकास गर्नु परियोजनाको लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक बम बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना अन्तर्गत स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सेवामा सुधार गर्ने तथा स्वास्थ्य संस्थामा फोहोर व्यवस्थापन र सरसफाइमा दिगो सुधार ल्याउन विभिन्न क्रियाकलाप गरिनेछ ।

प्रदेशस्तरीय परियोजना परिचयात्मक कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव धोलक राज ढकालले खानेपानी सरसफाइका क्षेत्रका बनेका नीति नियमलाई कार्यान्वयन गर्न सकेमा अवस्था सुधार हुने बताउनुभयो । सचिव ढकालले सरकार संघ संस्था र नीजि क्षेत्र सबैको सहभागितामा मात्रै सरसफाई स्वच्छताको अवस्था सुधार गर्न सकिनेमा जोड दिनुभयो ।