स्थानिय तहका कर्मचारीको मागः नीति विभेदरहित बनोस्

सुर्खेत, ३ चैत (जागरण) । कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरुले विभेद रहित निती बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय तह कर्मचारी संघ नेपाल कर्णाली प्रदेशको प्रथम प्रादेशिक भेलालाई सम्बोधन गर्दै कर्मचारीहरुले यस्तो बताएका हुन् ।
साथै उनीहरुले कर्णाली प्रदेशको समृद्धि र विकासका लागि स्थानीय तहका कर्मचारीहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।
कार्यक्रम्मा बोल्दै कर्णाली प्रदेशका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री खड्ग बहादुर खत्रीले कर्मचारी देशको स्थायी सरकार भएको भन्दै यस प्रदेशको विकासका लागि इमान्दार भएर काममा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्थानिय तह कर्मचारि संघ, नेपालका केन्द्रिय अध्यक्ष हरिकुमार श्रेष्ठले आगामी दिनहरुमा प्रदेश सरकार कर्मचारी मुखी हुनुपर्ने भन्दै स्थानिय तहको विकासको लागी सबैले आ– आफनो ठाउँबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देबकुमार सुबेदीले कर्मचारीहरुले आफ्नो कामलाई राजनितीभन्दा टाढा राख्नुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीहरु राजनितीक रुपमा जुन सुकै पार्टीमा आवद्ध भएता पनि जनतालाई सेवा दिने कार्यमा राजनितीबाट टाढा रहने बताउनुभएको हो ।
यस्तै, गाउँपालिका महासंघ कर्णाली प्रदेशका संयोजक कविन्द्र कुमार केसीले देशमा संघियता कार्यन्वयनमा कर्मचारीको सबैभन्दा ठुलो योग्दान हुने बताउनुभयो ।
उहाँले तीन तहका कर्मचारीहरुले सत्ता, शक्ति र सम्मानको सदुपयोग गर्न सके मात्रै तीन तहको राज्य व्यवस्था सबैले चाहेजस्तो हुने उल्लेख गर्नुभयो ।

फोटोः कुलबहादुर खड्काबाट