जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा : मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ

भदौ २९, काठमाण्डौ । जेनजीको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०÷१० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमको अवसरमा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा मृत्यु भएकाको परिवारलाई १०÷१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
जेनजी आन्दोलन र प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या ७२ जना पुगेको पनि उहाँले बताउनुभयो । मुख्यसचिव अर्यालका अनुसार एक सय ९१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।