
सुर्खेत, ८ असोज ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नागरिकको मूल्यांकनमा उर्तीण हुनेगरी सेवा दिनुपर्ने बताउनुभएको छ ।
सुर्खेतमा बुधबार आयोजित जिल्ला स्तरीय स्वास्थ्य क्रियाकलापहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको उद्घाटनका क्रममा सामाजिक विकास मन्त्री भण्डारीले सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी सेवा दिन आवश्यक रहेको बताउनुभएको हो । हरेक सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाको मूल्यांकन गर्ने भन्दै मन्त्री भण्डारीले कागजी मूल्यांकनमा नभई जनताको मूल्यांकनमा उर्तीण हुनुपर्नेमा जोड दिनुभयो । एक अर्काे प्रसंगमा उहाँले करामा जनशक्ति नियुक्त नगर्ने संघीय सरकारको परिपत्रले स्वास्थ्य सेवा प्रवाहमा गम्भिर असर पुग्ने बताउनुभएको छ । पर्याप्त दरबन्दी र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अस्पतालदेखि गाउँ वस्तीमा करारमा जनशक्ति मार्फत नै स्वास्थ्य दिँदै आएको प्रसंग उल्लेख गर्दै मन्त्री भण्डारीले संघीय सरकारले स्वास्थ्य क्षेत्रको हकमा पुर्नर बिचार गर्नुपर्ने बताउनुभयो ।
यस्तै स्वास्थ्य सेवा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगााम सुनारले पनि स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता र मौलिक हक भएकाले त्यसको प्राप्तिमा असर पर्ने गरी कुनै पनि निर्णय गर्न नहुने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव ढोलकराज ढकालले अस्थायी तथा स्थायी बसाई सराईका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिस घट्दै गएको र शहरमा सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक स्वास्थ्य संस्थाको पुनसंरचना गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुण भट्टराइले विगतका कामबाट समीक्षा गरेर निर्माण गरिएका राम्रा योजनाहरु पनि बजेट अभावले कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । प्रदेश सरकारबाट सिमिट बजेट आउने तथा संघीय सरकारबाट ससर्त कार्यक्रम मात्रै आउने भएकाले सिकाइका आधारमा तयार गरिएका कतिपय महत्वपूर्ण कार्यक्रमहरु लागू गर्न नसकिएको उहाँको भनाई छ । उहाँले आगामी दिनमा माग र आवश्यकताका आधारमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।
बिहीबारसम्म चल्ने जिल्ला स्तरीय समीक्षा कार्यक्रममा सुर्खेतका स्थानीय तह, साझेदार संघ संस्था लगायतको सहभागिता रहेको छ । कार्यक्रमबाट स्थानीय तहले हासिल गरेका उपलब्धी, कार्यक्रम कार्यान्वयनमा भोग्नु परेका चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयको समीक्षा गरी योजना निर्माण गरिने जनस्वास्थ्य अधिकृत हरि बहादुर पुनले जानकारी दिनुभयो ।
