एनपीएल : आज दुई खेल हुँदै, जितको खोजीमा कर्णाली


मंसिर ६, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन् । दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल ११ः१५ बजे कर्णाली र लुम्बिनी लायन्स खेल्दै छन् । जहाँ पहिलो जितको खोजीमा छ ।
यस्तै, दोस्रो खेलमा दिउँसो ४ बजे काठमान्डु गोर्खाज र वराटनगर किङ्ग्स खेल्दै छन् ।
हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्स लगातार दोश्रो खेलमा विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेनजर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।