
मंसिर १०, दैलेख । दैलेख जिल्लाको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीको पहुँच सुनिश्चितता नगर घोषणा गरिएको छ ।
आज (बुधबार) औपचारिक रूपमा गरिएको यो घोषणासँगै नगर क्षेत्रभित्र बसोबास गर्ने सबै योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता सहज रूपमा प्राप्त गर्न पाउने व्यवस्था सुनिश्चित गरिएको जनाइएको छ । आवश्यक सूचकहरू पूरा गरेपछि गरिएको यस घोषणा कार्यक्रममा नारायण नगरपालिका नेपालकै पहिलो पहुँच सुनिश्चित नगर भएको दाबी पनि गरिएको छ ।
घोषणा सभामा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक सुरक्षा भत्ता केवल खर्च जोहो गर्ने माध्यम मात्र बन्न नहुने बताउँदै यसको सदुपयोग दीर्घकालीन फाइदा हुने क्षेत्रमा गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि तपाईं लाभग्राही नागरिक र सरकारबीचको समन्वय अझ सुदृढ हुनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले सामाजिक सुरक्षाअन्तर्गत शैक्षिक छात्रवृत्ति, छोरीबुहारी छात्रवृत्ति, बैंक खाता–छोरीको सुरक्षा, जीवनभरिको कार्यक्रमजस्ता प्रभावकारी योजना सञ्चालनमा ल्याएको जानकारी गराउँदै भाषा, कला, संस्कृति तथा परम्परागत सीपको संरक्षणका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। उहाँले यी कार्यक्रमहरूमा सहभागी हुन तपाईं सबैलाई आग्रह पनि गर्नुभयो ।
सन् २०३० भित्र सबै नागरिकलाई सामाजिक सुरक्षाको पहुँचमा ल्याउने सरकारको लक्ष्यअनुसार पहिलो प्रगतिशील कदम नारायण नगरपालिकाबाट सुरू भएको नगरप्रमुख लोमन शर्माले बताउनुभयो । सामाजिक सुरक्षा नीतिअनुसार विनियम र कार्यविधि बनाई नगरभित्र भत्ता वितरण सहज र व्यवस्थित गरेको उल्लेख गर्दै, यसको दिगोपनाका लागि स्थानीय सरकार निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आमा नागरिकबाट समेत निरन्तर सहयोगको अपेक्षा गरिएको छ ।
