सिम्तामा जवाफदेहिताका औजारबारे अभिमुखीकरण

सर्खेत १५ मंसिर ।

सुर्खेतक सिम्ता गाउँपालिकामा सामाजिक जवाफदेहिताका औजार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

युरोपियन यूनीयनको सहयोग तथा एन सी ई नेपाल, ग्लोवल एक्सन नेपाल र नेपाल अपांग महिला संघको संयुक्त आयोजनामा सञ्चालित कोप परियोजना अन्तर्गत सिम्ता गाउँपालिकामा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा सिम्ता गाउँपालिकाकी उप-प्रमुख  गोमा शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले मुख्यगरी शिक्षा क्षेत्रमा सुशासनको महत्व, यसले सेवा प्रवाहमा पार्ने सकारात्मक असर, र जवाफदेहिताका औजारहरूको प्रयोग तथा कार्यान्वयन प्रक्रियामाथि केन्द्रित रहेर बृहत् छलफल गरिएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष, शिक्षा शाखाका प्रमुख र प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक  शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लब, युवा क्लब, र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अभिमुखीकरण सत्रमा सहभागीहरूलाई  सुशासनको अवधारणाबारे स्पष्ट पारिएको थियो ।

छलफलमा शिक्षाको क्षेत्रमा सुशासनको महत्व र यसले सेवा प्रवाहमा पार्ने सकारात्मक असरमाथि विशेष जोड दिइएको थियो । छलफलमा विद्यालय व्यवस्थापन, शैक्षिक सामग्रीको वितरण, शिक्षकको नियमितता, र बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउन सामाजिक जवाफदेहिता अपरिहार्य हुने निष्कर्ष निकालिएको छ । कार्यक्रमका सहजकर्ता एन सी ई सुर्खेतका सचिव टिकाराम आचार्यले सहभागीहरूलाई सामाजिक जवाफदेहिताका चार महत्वपूर्ण औजारहरूको प्रयोग र कार्यान्वयन प्रक्रिया बारे विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले औजारहरूलाई विद्यालय र पालिका स्तरमा कसरी प्रभावकारी रूपमा प्रयोगमा ल्याई पारदर्शिता बढाउन सकिन्छ भन्ने विषयमा छलफल चलाउनुभएको थियो । सहजकर्ता आचार्यले आफ्नो भनाई राख्दै सुशासनको कुरा गर्दा, कागजमा बनेका नीति नियम मात्र प्रर्याप्त नहुने भन्दै तिनको व्यवहारिक कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रमको अन्तिम सत्रमा सहभागी सबै पक्षले आफ्ना धारणा राख्दै पालिकाको शिक्षा र समग्र विकास प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा सहभागिता अभिवृद्धि गर्न उल्लेखित औजारहरूको प्रभावकारी प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिकाकी उपप्रमुख गोमा शर्मा रेग्मीले  समापन मन्तव्य दिँदै परियोजनाको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले सामाजिक जवाफदेहिताका यी औजारहरूलाई आगामी दिनमा पालिकाको योजना तर्जुमा, कार्यान्वयन र अनुगमनमा अनिवार्य रूपमा लागू गर्दै जनताको सेवा प्रवाहमा सुशासन कायम गर्न पालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।