
पुस ८, सुर्खेत । मुगुका चारवटै स्थानीय तहका विभिन्न समुदायमा केही दिनयता भाइरल इन्फ्लुएन्जा (रुघाखोकी–ज्वरो)को प्रकोप फैलिएको छ । लामो समयदेखि वर्षा र हिमपात नहुनु, चिसो तथा धुलो–धुवाँका कारण फैलिएको यस भाइरल ज्वरोका कारण छायांनाथ रारा नगरपालिका–१४ बाममा मात्रै मंसिर २० यता ५ जनाको मृत्यु भएको छ भने सयौं सर्वसाधारण बिरामी परेका छन् ।
जिल्लामा असोज महिनायता वर्षा तथा हिमपात नहुँदा अत्यधिक चिसो र धुलोको असर बढेसँगै भाइरल इन्फ्लुएन्जाको संक्रमण तीव्र रूपमा फैलिएको छ । यसैक्रममा छायांनाथ रारा नगरपालिका–१४ बाममा भाइरल ज्वरोका कारण हालसम्म पाँच जनाको मृत्यु भएको वडाध्यक्ष जूनबहादुर खड्काले बताउनुभयो । मृत्यु हुनेमा ५७ वर्षका जुद्ध रोकाया, ६० वर्षीया मुनसिला बढुवाल, ६२ वर्षका कृष्णबहादुर बुढा, एक तीन महिनाको शिशु तथा दुई वर्षको एक बालक रहेका छन्। वडाध्यक्ष जूनबहादुर खड्काका अनुसार हाल गाउँमा बालबालिकादेखि वृद्धसम्म अधिकांश सर्वसाधारण भाइरल ज्वरोबाट थला परेका छन् ।
संक्रमण फैलिँदै गएपछि छायांनाथ रारा नगरपालिकाले पुस ५ गते बाम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा ६ जनामा निमोनिया देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष खड्काले बताएका छन् ।
यस्तै, मुगुम कार्मारोङ गाउँपालिका–७, ८ र ९ नम्बर वडाका पाँच बस्तीमा पनि भाइरल इन्फ्लुएन्जाका कारण धेरै सर्वसाधारण बिरामी परेका छन्। ती बस्तीमा हालसम्म मृत्युको घटना नभएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बली बुढाले जानकारी दिए। उनका अनुसार चिकित्सकसहितको टोलीले पाँचवटै बस्तीमा पुगेर स्वास्थ्य जाँच गर्दा सबैमा भाइरल इन्फ्लुएन्जाका लक्षण देखिएको छ ।
सोरु गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पनि रुघाखोकीका बिरामीको संख्या विगतको तुलनामा उल्लेख्य रूपमा बढेको छ । सोरु गाउँपालिका–६ स्थित नवयुवा आधारभूत विद्यालयका सबै विद्यार्थी र शिक्षक रुघाखोकीबाट बिरामी भएपछि विद्यालयले सामूहिक स्वास्थ्य जाँच र उपचारको माग गर्दै गाउँपालिकालाई लिखित जानकारी गराएको छ । जनस्वास्थ्य निरीक्षक चरित्र धामीका अनुसार केही दिनअघि मुगुम कार्मारोङका आवासीय विद्यालयबाट घर फर्किएका विद्यार्थीबाट संक्रमण फैलिँदा उनीहरूका परिवार तथा छिमेकीसमेत बिरामी परेका हुन् ।
खत्याड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्र मल्लका अनुसार चिसो बढेसँगै रुघाखोकीका बिरामीको संख्या वृद्धि भएको छ । हाल सबै स्वास्थ्य चौकीमा आवश्यक औषधि पठाइसकिएको र स्वास्थ्यकर्मीलाई आ–आफ्नो कार्यक्षेत्रमै केन्द्रित हुन निर्देशन दिइएको बताउनुभयो । छायांनाथ रारा नगरपालिका १४ नम्बर वडा कार्यालयको जानकारीपछि जिल्ला अस्पतालका चिकित्सक तथा नगरपालिकाका स्वास्थ्यकर्मी बाम गाउँमा पुगेर ३ सय २६ जनाको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षण गरिएका सबैमा भाइरल इन्फ्लुएन्जाको संक्रमण देखिएको छायांनाथ रारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार पुसको पहिलो सातासम्म हिमपात र पानी नपर्दा यस्ता भाइरल रोग देखिएको हो । संक्रमण भएका सर्वसाधारण ३ देखि ५ दिनसम्म थला पर्ने गरेका छन् । जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार हाल देखिएको रोग भाइरल इन्फ्लुएन्जा हो ।
