सेवाप्रति जनविश्वास बढाउनेगरी काम गर्न जुम्लाका स्वास्थ्यकर्मीलाई मन्त्री भण्डारीकाे नर्देशन


जुम्ला ८ पुस ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले
सरकारी स्वास्थ्य संस्थाकाे सेवालाई विश्वसनीय बनाउनुपर्ने बताउनु भएकाे छ ।
आज जुम्लामा जिल्ला र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू लगायत स्वास्थ्यकर्मीसंगकाे भेटघाटमा मन्त्री भण्डारीले सरकारी स्वास्थ्य संस्थाकाे सेवा प्रति जनविश्वास बढाउन जरूरी रहेकाे बताउनुभएकाे हाे । निजी मेडिकलहरूमा सामान्य स्वास्थ्यकर्मीले सेवा दिँदा पनि विश्वास गर्ने तर सरकारीमा चिकित्सकबाटै सेवा दिँदा पनि नागरिकमा विश्वास कम देखिएकाे भन्दै मन्त्रि भण्डारीले यस्ताे अवस्था परिवर्तन गर्नुपर्नेमा जाेड दिनुभयाे ।
भएकाे संरचनाबाट सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै उहाँले
संरचनामा सकेकाेजति सहयाेग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
छलफलका क्रममा स्वास्थ्य शाखा प्रमुखहरूले करारका कर्मचारी राख्न नपाइने नियमले स्थानीय तहमा सञ्चालनमा आधारभूत स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाह अबरूद्ध भएकाे गुनासाे गरे । स्थानीय स्तरमा सेवा प्रवाहलाई सहज बनाउन उक्त निर्णय सच्याउन पनि आग्रह गरेका छन ।
यस सन्दर्भमा मन्त्री भण्डारीले स्वास्थ्य संस्थामा करारमा भएका स्वास्थ्यकर्मी नराख्दा समस्यामा परेकाे कुरा बुझेकाे भन्दै सम्बन्धित ठाउँमा कुरा उठाउने बताउनुभयाे ।
स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहलाई सहयाेग पुर्याउन प्रदेश सरकारले सक्दाे सहयाेग गरिरहेकाे बताउँदै उहाँले स्थानीय तहमा ३२ जना मेडिकल अधिकृत काजमा पठाएकाे उल्लेख गर्नुभयाे । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले न्यून बजेटका कारण खाेप, तथ्यांक व्यवस्थापन, जनस्वास्थ्य प्रवर्द्घन लगायतका काममा कठिनाई भैरहेकाे बताउँदै आवश्यक सहयाेगका लागि आग्रह गर्नुभयाे ।