जुम्लामा ब्राउन सुगरसहित युवक पक्राउ


पुस १७, जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेसँगै जिल्लामा लागुऔषध कारोबारको सम्भावित सञ्जालबारे अनुसन्धान तीव्र बनाएको छ ।
मंगलबार दिउँसो करिब साढे ३ बजे चन्दननाथ नगरपालिका–९ उमगाड गाउँका २२ वर्षीय कविन्द्र रावल पक्राउ परेका हुन् । हाल चन्दननाथ नगरपालिका–६ छिना गाउँमा बस्दै आएका रावलले आफ्नै घरमा लागुऔषध लुकाइछिपाइ राखेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सादा पोशाकमा खटिएको टोलीले रावलको घरमा खानतलासी गर्दा ब्राउन सुगरबरामद भएको प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रबिनबाबु रेग्मीले बताउनुभयो ।
खानतलासीका क्रममा रावलले लगाएको सेतो रंगको ज्याकेटको दायाँ गोजीभित्र कालो प्लास्टिकमा बेरी राखिएका दुई पुडिया तथा सुत्ने कोठाको माथिल्लो भागमा रहेको काठको कडीमा लुकाइराखिएका २६ पुडिया फेला परेका थिए । बरामद २८ वटै पुडिया परीक्षण गर्दा लागुऔषध ब्राउन सुगर पुष्टि भएको र तौल गर्दा शुद्ध ४ ग्राम ३ सय ४० मिलिग्राम रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार सामान्य प्रयोगभन्दा बढी परिमाणमा ब्राउन सुगर फेला परेकाले रावल व्यक्तिगत प्रयोगकर्तामात्र नभई कारोबारमा संलग्न हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ ।
बरामद लागुऔषध कसरी जुम्लासम्म आइपुग्यो, यसका स्रोत र संभावित संलग्न व्यक्तिहरू को–को हुन् भन्नेबारे सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय कर्णालीका जिल्लाहरूमा लागुऔषध ओसारपसार र प्रयोग बढ्दो क्रममा रहेको प्रहरीको आकलन छ ।
विशेषगरी युवा पुस्ता लक्षित कारोबार बढ्दै गएपछि निगरानी र सूचनाका आधारमा छापा अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका रावललाई जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखी लागुऔषध (नियन्त्रण) ऐनअनुसार आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनासँग जोडिएका अन्य व्यक्ति वा सञ्जाल खुल्न सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी राखेको छ ।