
पुष १९, काठमाण्डौ । नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पुरुषतर्फ त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधिका लागि खेल्दैछन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको पुरुषतर्फको सेमिफाइनल खेलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् । आर्मीले रुकुमलाई ३–२ को सेटमा र हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिकै पुगेको हो ।
यस्तै महिलातर्फ न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ । हिजो भएको सेमिफाइनलका खेलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा र पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । महिलातर्फको फाइनल खेल दिउँसो १ बजे र पुरुषको दिउँसो साढे ३ बजे शुरू हुनेछ ।
