कर्णालीको बजेट ५ महिनामा ९ प्रतिशत मात्रै खर्च


पुष १९, सर्खेत । चालु आर्थिक वर्ष २०८२÷०८३ को पाँच महिनाको अवधिमा कर्णाली प्रदेश सरकारले मुस्किलले ९ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले मंसिर मसान्तसम्म कुल बजेटको ९.८७ प्रतिशत रकम खर्च गर्न सकेको हो । यो वर्षका लागि सरकारले चालुतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार, पुँजीगततपर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र वित्तीय व्यवस्था ६१ करोड ५० लाख गरी कुल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो ।
प्रदेश कोष नियन्त्रण कार्यालयका अनुसार मंसिर मसान्तसम्म प्रदेश सरकारको चालुतर्फ २ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बजेट खर्च भएको छ । यस्तै पुँजीगततर्फ ८७ करोड ९१ लाख ७ हजार २ सय गरी जम्मा ३ अर्ब २५ करोड ६७ लाख २ हजार रुपैयाँ खर्च भएको छ । अब आगामी ७ महिनामा प्रदेश सरकारले करिब ९० प्रतिशत अर्थात् २९ अर्ब ७३ करोड ९९ लाख ५२ हजार रुपैयाँ खर्च गर्न बाँकी छ ।
कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुल ३८ करोड ५२ लाख १ हजार बजेटमध्ये १२.६२ अर्थात् ४ करोड ८० लाख ९ हजार रुपैयाँ बजेट खर्च गर्न सकेको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले २० करोड १३ लाख ४५ हजारमध्ये ४ करोड ८७ लाख २४ हजार रुपैयाँ बजेट खर्च गरेको छ । जुन कुल बजेटको २४.२० प्रतिशत हुन आउँछ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कुल २ अर्ब ४२ करोड ७९ लाख ९८ हजार बजेटमध्ये ११.४८ प्रतिशत अर्थात् ३० करोड २९ लाख ४९ हजार रुपैयाँ बजेट खर्च गर्न सकेको छ ।
प्रदेश कोष नियन्त्रण कार्यालयको विवरणअनुसार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको ३ अर्ब ८३ करोड ३५ लाख ८ हजार बजेटमा जम्माजम्मी ४.३५ अर्थात् १६ करोड ६६ लाख ८२ हजार रुपैयाँ बजेट खर्च भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २ अर्ब ५७ करोड ११ लाख बजेटमध्ये १८ करोड ५१ लाख ४४ हजार रुपैयाँ बजेट खर्च गरेको प्रदेश कोष नियन्त्रण कार्यालयले जनाएको छ ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३० करोड बजेटमा १ करोड ९१ लाख ४९ हजार रुपैयाँ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको ११ अर्ब १२ करोड १० लाख ७ हजार बजेटमध्ये ६८ करोड ७० लाख ७७ हजार रुपैयाँ बजेट खर्च गरेको विवरण छ ।
यस्तै सामाजिक विकास मन्त्रालयको कुल ५ अर्ब ७७ करोड ५६ लाख ८९ हजार बजेट मध्ये १३.९६ अर्थात् ८० करोड ६४ लाख १ हजार ३ सय ३७ रुपैयाँ बजेट खर्च गरेको प्रदेश कोष नियन्त्रण कार्यालयले जनाएको छ ।