भेरी पम्पिङ्ग आयोजनाको भौतिक प्रगती १३ प्रतिशत


पुस २२, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ती गर्न निर्माण गर्न लागिएको भेरी पम्पिङ्ग आयोजनाको १३ प्रतिशत भौतिक प्रगती भएको छ ।
गत बर्ष भदौदेखि निर्माण सुरु भएको आयोजनाको हालसम्म १३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । आायोजनाको दुई चरणमा काम हुँदैछ । पहिलो चरण प्याकेज– १ अन्तर्गत ३ वटा मुख्य रिजर्ब ट्यांकी निर्माण, मुख्य पाइप लाइन, लिफ्टिङ्गका लागि संरचना तयार गर्ने गरी ठेक्का लगाइएको छ ।
पहिलो चरणमा अमृत डाँडामा ३०¬–३० लाख क्षमताका तीन वटा गरी ९० लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना छ । ट्यांकी निर्माण कार्य सुरु भएको छ । यस्तै पहिलो चरणमै भेरीबाट पानी पम्पिङ्गका लागि संरचना, भाङ्गारीमा पानी सुद्धिकरण प्लान्ट, र त्यहाँबाट ७ किलो मिटर पाइपलाइनबाट अमृती डाँडामामा निर्माण हुने मुख्य ट्यांकीमा पानी पुर्याइने । पाँच वटा बुष्टिङ्ग स्टेशनका लागि ट्यांक निर्माण गरिनेछ ।
पहिलो चरणको काम अन्तर्गत मुख्य प्रसारण लाइनमा पर्ने रुख कटानसँगै अमृत डाँडामा तीनवटा मुख्य ट्यांकी निर्माणको काम सुरु भएको आयोजनाका इन्जिनियर ईश्वरी ढकालले जानकारी दिए । यस्तै मुख्य प्रसारण लाइन अन्तर्गत पाइपलाइन विछ्याउने काम भैरहेको ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म १२ किलोमिटर पाइप लाइन विस्तार सम्पन्न भएको छ ।
आयोजनाको परामर्शदाता प्रमुख रमेश अधिकारीका अनुसार आयोजना कार्यान्वयन हुने क्षेत्रमा पर्ने चार सामुदायिक वनमध्ये दुईवटामा रुख कटानको काम सम्पन्न भएको छ । बाँकी दुईवटामा पनि रुख कटानको जारी छ । उनका अनुसार यी सामुदायिक वनमा सात किलोमिटर पाइप लाइनका लागि अबको केही दिनमा रुख कटानको काम सम्पन्न हुनेछ । रुख कटानको काम सम्पन्न भएपछि आयोजनाको मुहान क्षेत्रमा इन्टेक र पानी शुद्धीकरण गरिने क्षेत्रमा संरचना निर्माणको काम सुरु हुने अधिकारीले बताए ।
१३ भदौ २०८१ मा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र निर्माण व्यवसायीबीच निर्माण सम्झौता भई आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो । प्याकेज– १ निर्माणको जिम्मा चिनियाँ कम्पनी सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसन कम्पनीले लिएको छ । आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपैयाँ लागतमा सम्झौता भई काम भैरहेको छ ।
वीरेन्द्रनगरमा आगामी २५ वर्ष (सन् २०५०) सम्म वृद्धि हुन सक्ने जनसंख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ आयोजना अगाडि बढिरहेको नगर प्रमुख मोहनमाय ढकालले बताइन । आयोजनाका लागि नीतिगत तथा कानुनी हिसाबले कुनै पनि बाध अड्काउन नरहेको भन्दै समयमै सम्पन्न हुने नगर प्रमुख ढकालले दाबि गरिन । सोमबार आयोजना स्थलमा अनुगमनका लागि पुगेकी नगर प्रमुख ढकालले दु्रत गतीमा काम भैरहेकोले समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको बताइन ।
यस्तै आयोजनाको दोस्रो प्याकेज पनि अघि बढइएको छ । प्याकेज– २ का संरचना निर्माण गर्न अन्तराष्ट्रिय सिलबन्दी बोलपत्र आह्वान भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालयले प्याकेज– २ का लागि ग्लोबल टेन्डर गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद बासकोटाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट सिलबन्दी बोलपत्रमार्फत निर्माण कम्पनी छनोट प्रक्रिया अघि बढेको बताए । उनका अनुसार प्याकेज– २ अन्तर्गत खानेपानी वितरण लाइनको काम हुनेछ । झण्डै ८०० किलोमिटर लम्बाइको पानी वितरण गरिने पाइप सञ्जाल निर्माण, झुप्रास्थित अहिले भइरहेको खानेपानी शुद्धिकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोल, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति, झुप्रा, खरिखोला–बोरिखोला तथा इत्रामबाट ट्रान्समिसन जडानका काम छन् ।
यस्तै, इत्राम क्षेत्रमा १ हजार ५०० घनमिटर क्षमताको ट्याङ्की निर्माण र स्वचालन तथा डाटा संकलन प्रणाली जडान पनि प्याकेज– २ अन्तर्गत पर्दछन ।
मुख्यमन्त्री कंडेलले गरे अनुगमन
संघ प्रदेश र स्थानीय तीन तहका सरकारको संयुक्त लगानीका पहिलो पटक निर्माण हुन लागेको भेरी पम्पिंग आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सोमबार स्थलगत रुपमा अनुगमन गरेका छन् । भेरी पम्पिङ्ग खानेपानी आयोजना संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको लागत साझेदारीमा कार्यान्वयनमा आएको राष्ट्रिय गौरबको पहिलो आयोजना हो ।
आयोजनामा संघीय सरकारको ८० प्रतिशत र प्रदेश सरकारको १३ प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ७ प्रतिशत लागत सहभागिता रहेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री कंडेलले अलिहे काम गरिरहेको गतिलाई निरन्तरता दिँदै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजना कार्यान्वयनका लागि बजेटको अभाव हुन नदिने पनि मुख्य कंडेलले प्रतिबद्धता जनाए ।
प्रदेश राजधानीवासीहरुको आशाको रुपमा रहेको खानेपानी आयोजनालाई जनविश्वास प्राप्त हुनेगरी कार्यान्वयन गर्न । निर्माण व्यवसायी सबै खराब होइनन समयमै काम गर्नेपनि छन भन्ने प्रभाव पार्नेगरी काम गर्न आग्रह गर्दै प्रदेश सरकारका तर्फबाट आवश्यक पूर्ण सहयोग हुने बताए ।