सडकका खाल्डा पुर्न माटो हालेपछि आलोचना, नगरपालिका यसो भन्छ…

मुना हमाल । सुर्खेत, ४ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानी भइसके पछि अहिले नगरभित्रका सडकमा परेका खाल्डाखुल्डी धमाधम पुर्नमा वीरेन्द्रनगर नगरपालिका व्यस्त छ ।
स्थानिय तहको निर्वाचन सम्पन्न भएको १० महिनापछि नगरपालीकाले नगरभित्रका विभिन्न सडकमा माटो र गिटी हालेर खाल्डा खुल्डी पुर्ने काम त थालेको हो ।
सडक मर्मत गर्ने नाममा गुणस्तरीयताको ख्याल नगरी सडकका खाल्डाखुल्डी माटोको मात्रा बढी हालेर पुर्न थालेपछि सर्वसाधारणले चर्को आलोचना गर्न थालेका छन् ।
वीरेन्द्रनगर ७ का अमरबहादर चन्दले अहिले खाल्डोमा माटो हालेर पुरेपनि पानी पर्नासाथ फेरी बग्ने भएकाले यस्तो टालटुले काम गर्न नहुने बताउनुभयो ।
यसरी भएको काममा रकमको फजुल खर्च भएको टिका टिप्पणी नागरिकहरुले गर्न थालेका छन् । कालोपत्रे सडकका खाल्डाखुल्डी मनपरी ढंगले माटो हालेर पुर्न थालेको काम वीरेन्द्रनगर ११ का भोजप्रसाद चपाईलाई पनि पटक्कै चित्त बुझेको छैन ।
यता, नगरपालिकाको कार्यालयले भने अपुग भएको बजेटको सदुपयोग मात्रै गरिएको बताएको छ । नगरपालिकाले वडा नम्बर ७ र ८ को लागि २० लाख रुपैयाँ बजेट छुट्याएर पहिलो चरणमा उक्किएको कालोपत्रे टाल्ने काम गरेको नगरप्रमुख देवकुमार सुवेदीको भनाई छ । निकट भविष्यमै नगरभित्रका सडक कालोपत्रे गर्ने उहाँ बताउनुहुन्छ ।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने पुर्वाधार विकासको काममा बजेटको सही सदुपयोग हुनुपर्छ भन्ने माग सर्वसाधारणको छ । प्रदेशको राजधानी वीरेन्द्रनगरमा वर्षौँदेखि मर्मत नभएका सडकहरु काम देखाउन माटोले पुर्ने भन्दा पनि तत्काल कालोपत्रे गर्न आवश्यक देखिन्छ ।