एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आजबाट सुरु


पुष २६, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको ग्रान्ड पार्टी प्यालेस पार्टी प्यालेसमा ११ औँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
पहिलो केन्द्रीय कमिटीले नै दोस्रो बैठक पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो। आजको बैठकमा , सचिवालय बैठकका निर्णय अनुमोदन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी, पार्टीको रणनीति र समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुनेछ ।
नेकपा एमालेको सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको घोषणापत्र लेख्न मस्यौदा समिति गठन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँले समितिको नेतृत्व गर्दै चुनावी घोषणापत्र लेख्न लागेका हुन् ।
एमालेको अपानिमा अध्यक्ष ओलीको संयोजकत्वमा उपाध्यक्षद्वय रामबहादुर थापा ’बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य घोषणापत्र लेख्न मस्यौदा समितिमा रहेको उल्लेख छ ।
एमालेले अहिले पनि चुनावको वातावरण बन्न नसकेको टिप्पणी गर्दै आएको छ । तर जुनसुकै अवस्थामा निर्वाचन गरि छोड्ने भन्ने सरकार र निर्वाचन आयोगको तयारीबाट अलग बस्ने कुरा उचित हुँदैन भन्ने पार्टीको मान्यताका आधारमा केन्द्रीय सचिवालयको बैठकले निर्वाचनलाई समेत आन्दोलनकारी ढङ्गले अघि बढाउने निर्णय गरेको छ ।
ओलीले निर्देशन दिँदै भनेका छन्, ‘मुलुक निर्वाचनमा होमिएको अवस्थामा सिंगो पार्टीपंक्ति आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुनु आवश्यक हुन्छ । पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिने छ ।’ मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन निर्वाचन सम्पन्न भएपछि गरिने एमालेको निर्णय छ ।