मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा

पुस ३०,— सहमतिका लागि हिजो अर्थात् मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडानमा सभापति शेरबहादुर देउवा तयार नभएपछि आपसी संवाद भाँडिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् ।
संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन दुई दिनदेखि नै निरन्तर संवादमा थिए । विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान मंगलबार संस्थापन पक्ष तयार देखिएको थियो ।
नेतृत्व परिवर्तनका विषयमा समेत सहमति खोज्ने पहलका लागि विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका पछि धकेलिएको थियो । संस्थापन पक्षले मंगलबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति पनि बुधबार बिहान ८ बजेटका लागि सारिएको थियो ।
मंगलबारको वार्तामा संस्थापन पक्षबाट सहभागी नेताहरू बालकृष्ण खाण र रमेश लेखकले विशेष महाधिवेशनको स्वामित्व स्वीकार गर्न र त्यसले पारित गरेका नीति तथा पार्टी सुधारका प्रस्ताव कार्यान्वयनमा समस्या नभएको बताएका थिए ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व नै प्रमुख मुद्दा भएको उल्लेख गर्दै तीन वटा विकल्प अघि सारेका थिए– पहिलो, विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने । यी सबै विकल्पमा पनि संस्थापन तयार नभएपछि ‘हाइकमान्ड’ बनाउने विकल्प अघि सारिएको विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले बताए । उनका अनुसार सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४ औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्ने संसदीय बोर्ड पनि सहमतिका आधारमा गठन गरिनुपर्ने बताएका थिए । नेतृत्वको विषयमा आफैंले निर्णय दिन नसकेपछि सभापति देउवासँग परामर्श गर्न भन्दै खाण र लेखक वार्ताकै बीचमा साँझ ६ बजे बाहिरिएका थिए ।
संस्थापन पक्षले भने मंगलबार ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । संवाद चलिरहेका कारण बैठक औपचारिकताका लागि एकछिन बसेर बुधबार अर्थात् आजका लागि सारिएको थियो । सहमति जुटे त्यसलाई स्वामित्व लिने र नभए विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाउने नेतालाई कारबाही गर्ने गरी बैठक बोलाइएको संस्थापन पक्षका एक नेताको भनाइ छ ।