कर्णालीमा आजदेखि दोस्रो मह महोत्सव सुरु

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज विहीबारदेखि दोस्रो प्रादेशिक मह महोत्सव सुरु भएको छ ।
चौँथो राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाल मौरी पालक महासंघ कर्णालीले मह महोत्सवको आयोजना गरेको हो ।
महोत्सवमा कर्णालीका विभिन्न जिल्लाका किसानहरुले मह तथा रैथाने कृषि वस्तुहरुको ५० वटा स्टल राखिएको छ ।
महोत्सवको उद्घाटनका गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जैविक विविधता बचाउन जरुरी रहेको बताउनुभयो । अहिले मानव क्रियाकलापहरूले जैविक विविधतामा असर परिरहेको भन्दै मन्त्री शाहले यसको संरक्षणमा सबैजना लाग्नुपर्नेमा जोड दिनुभयो । विषादी र रसायनिक मलको जथाभावी प्रयोगले मौरी संकटमा रहेको उल्लेख गर्दै मन्त्री शाहले मौरीको जीवन जोखिममा परे मानव अस्तित्व पनि खतरामा पर्ने जिकिर गर्नुभयो । उहाँले कर्णाली प्रदेश सरकारले कृषि विकास रणनीति तयार पारेको र त्यसमा पर्यावरणीय कृषिलाई जोड दिइएको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव संजिव कुमार कर्णले रैथान उत्पादनले पोषण सुरक्षा गर्नुका साथै, खाध असुरक्षा घटाउने बताए । जलवायू परिवर्तन भैरहेको अवस्थामा रैथाने बालीमा सहन सक्ने क्षमता बढि हुने भएकाले रैथाने बाली बचाउनुपर्नेमा उनले जोड दिनुभयो ।
कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायले मानिस र मौरीबीच अनुन्यास्रित सम्बन्ध रहेको भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
सुर्खेत उधोग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष दिपेन्द्र ढकालले किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । लिवर्डका कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले कर्णाली प्रदेशमा भौगोलिक विकटता, जलवायू परिवर्तन, सिमित बजार पहुँच र आधुनिक कृषि प्रणालीको दबावको कारण स्थानीय बाली र परागसेचकहरु जेखिममा परिरहेको बताउँदै संरक्षणका लागि सरकार संघ संस्था नीजि क्षेत्र र कृषकहरुबीच सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।
महोत्सवको कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम लगायत विभिन्न संघ संस्थाहरु सह आयोजक रहेका छन भने इन इलम परियोजना हेल्भेटास नेपाल महत्वसको प्रबद्र्धक रहेको छ ।
कर्णालीमा करिब १२ हजार घारमा मौरी पालन हुँदै आएको मौरी पालक महासंघको दाबि छ । महोत्सवले मह र रैथाने बालीको बजारीकरणमा सहयोग पुग्नुका साथै मौरी पालक किसानहरुमा उत्साह थपिने अपेक्षा रहेको आयोजक मौरी पालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले बताउनुभयो ।
आयोजकका अनुसार तीन गतेसम्म सञ्चालन हुने महत्वसमा कर्णालीका दशै जिल्लाको मह एकै ठाउँमा अवलोकन तथा किनबेच गर्न पाइनेछ ।
साथै मौरी पालन सम्बन्धीको जानकारी तथा प्रविधिहरुको अध्ययन अवलोकन, रैथाने विउ, तरकारी एवं अन्न बाली बारे अध्ययन अवलोकन र कृषिसँग सम्बन्धित पूराना औजार तथा सामग्रीहरुको अवलोकन पनि गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको ।