
माघ १९, काठमाडौं । श्रमिक तथा कर्मचारीको तलब र ज्यालादरमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको तथ्यांक अनुसार वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ६.०३ प्रतिशतले बढेको हो । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा निकै उत्साहजनक हो ।
गत वर्ष सोही अवधिमा यस्तो सूचकांकको वृद्धिदर २.८५ प्रतिशत थियो । यस वर्ष तलब र ज्यालामा भएको वृद्धिदर अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हुँदा श्रमिकहरूको आम्दानीमा सकारात्मक सुधार देखिएको छ ।
प्रदेशगत हेर्दा समीक्षा अवधिमा गण्डकीका श्रमिक तथा कर्मचारीको तलब र ज्यालादर सबैभन्दा उच्च बिन्दुले बढेको छ । गण्डकीमा यसको वृद्धिदर ९.७१ प्रतिशत पुगेको छ भने लुम्बिनीमा ८.६४ र कोशीमा ६.७७ प्रतिशतको वृद्धि मापन गरिएको छ ।
त्यसैगरी, सुदूरपश्चिममा ५.६० प्रतिशत, बागमती ४.७४ र मधेशमा ४.४२ प्रतिशतले तलब तथा ज्याला सूचकांक बढेको राष्ट्र बैंकले जनाएको छ ।
देशका अन्य प्रदेशमा तुलनात्मक रूपमा राम्रो वृद्धि देखिए पनि कर्णालीमा भने तलब र ज्यालादरको वृद्धिदर सबैभन्दा सुस्त देखिएको छ । समीक्षा अवधिमा कर्णालीमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक मात्र २ प्रतिशतले बढेको छ ।
