
फागुन ३, सुर्खेत । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउँछन् ।
आज महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि आवश्यक तयारी गरेको हो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । भक्तजनको सुरक्षाका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभएको हो ।
