
फागुन ४, जुम्ला । जुम्ला र मुगु जिल्ला जोड्ने नाग्म–गमगढी सडकको १५ किलोमिटर सडक कालोपत्रे (पिच) गर्ने कार्य अघि बढ्ने भएको छ । उक्त सडकको प्रारम्भिक विन्दुबाट १५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि बजेट सुनिश्चित भएपछि निर्माण कार्य अघि बढ्ने भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराले कालोपत्रेका लागि बजेट सुनिश्चित भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल ९१ करोड बजेट सुनिश्चित भइसकेको छ ।
नाग्म–गमगढी सडकखण्डमा २०६७÷६८ देखि नै गाडी गुड्न थालेको हो । तर, हालसम्म सो सडक कालोपत्रे हुन सकेको थिएन । देशकै प्रमुख पर्यटकीय गन्तव्य रारासँग जोडिएको यो सडक हरेक निर्वाचनमा चुनावी मुद्दा बन्दै आएपनि हालसम्म कालोपत्रे भने गर्न सबैजसो नेता असफल हुँदै आएका थिए ।
अहिले बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रेको काम सुरु हुन लागेको डिभिजन प्रमुख महतराले बताउनुभयो ।
