
फागुन ६, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू–भागमा सामान्य बदली रहनेछ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । पहाडी भेगका थोरै स्थानमा छिटपुट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
