आज राष्ट्रिय प्रजातन्त्र दिवस ; देशभर विविध कार्यक्रमका साथ मनाइँदै

फागुन ७ ,सुर्खेत । आज फागुन ७ का दिन राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ ।

शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ ।

यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष नेताहरूले देशवासीलाई शुभकामना दिएका छन् ।