प्रदेशमा ६ मन्त्रालय मात्रै राख्ने काँग्रेस सभापति थापाको घोषणा

फागुन ७ सुर्खेत ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले मन्त्रालयको संख्या अनावश्यक रूपमा नबढाइने स्पष्ट पारेका हुन्।

सभापति थापाले गठबन्धनको नाममा भागबण्डा गर्न मन्त्रालय संख्या थप्ने अभ्यास अन्त्य गरिने बताएका छन्। उनले अब कुनै पनि दलले सत्ता साझेदारीका लागि मन्त्रालय थप्न नपाउने व्यवस्था लागू गरिने उल्लेख गरे।

उनले २०४६ सालपछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै त्यस अवधिमा भएका राजनीतिक र आर्थिक परिवर्तन काँग्रेसकै नीति र मोडेलको परिणाम भएको दाबी गरे। साथै, त्यसपछिका राजनीतिक उतारचढाव र प्राकृतिक कारणले भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति थापाले आगामी पाँच वर्षभित्र नेपालको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलरसम्म पुर्‍याउने लक्ष्य रहेको बताए। उनले संवैधानिक आयोगहरूमा भागबण्डाका आधारमा नियुक्ति गर्ने परिपाटी अन्त्य गरिने र भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिज्ञा पनि व्यक्त गरे।

थापाले सीमित, प्रभावकारी र पारदर्शी सरकारमार्फत सुशासन, आर्थिक समृद्धि र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।