
फागुन ७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रजातन्त्र दिवस नेपालको गौरवपूर्ण र ऐतिहासिक दिन रहेको बताउनु बताउनु भएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस दिनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नागरिक स्वाभिमानको संरक्षणका लागि बलियो आधार तयार पारेको बताएका हुन्।
मुख्यमन्त्री कँडेलले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद, बेपत्ता, घाइते तथा आन्दोलनकारीहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरे। उनले प्रजातन्त्र केवल शासन व्यवस्था मात्र नभई जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र सामाजिक न्यायको मुख्य आधार भएको उल्लेख गरे।
उनले २००७ सालको ऐतिहासिक क्रान्तिले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र वर्तमान संविधान निर्माणका लागि महत्वपूर्ण जग तयार गरेको बताए। विगतका संघर्ष र बलिदानकै परिणामस्वरूप मुलुक अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र समृद्धिको दिशामा अघि बढ्न सबैलाई आह्वान गरे।
मुख्यमन्त्री कँडेलले आगामी निर्वाचनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र संस्थागत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नागरिकलाई आग्रह गर्दै प्रजातन्त्र दिवसले नागरिकका आकांक्षा पूरा गर्ने दिशामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
