रुकुम, १८ साउन (जागरण) । २८ दिनदेखि उद्योग वाणिज्य संघ रुकुम पश्चिममा लागेको ताला नखुलेपछि व्यवसायीहरुले सास्ती भोग्नुपरेको छ ।
अहिले नयाँ व्यवसाय दर्ता, पुरानाको नवीकरण, कर चुक्ता गर्ने, प्यान नम्बर लिने, कर विवरण बुझ्ने तथा फर्म खारेज गर्नेहरूको घुइँचो हुनुपर्ने समयमा उद्योग वाणिज्य संघमा ताला लागिरहेको छ ।
रुकुम उद्योग वाणिज्य संघका आधा कार्य समितिले कार्यालयमा तालाबन्दी गर्दा व्यवसायी मारमा परेका हुन् ।
व्यवसाय दर्ता, दर्ताका प्रक्रिया, नवीकरण लगायतका काम गर्न टाढाटाढाबाट आएका व्यापारी कामै नगरी फर्कन बाध्य छन् । संघको १२ औं अधिवेशनमा विवाद भएपछि असन्तुष्ट पक्षले संघको कार्यालयमा ताला लगाएको हो ।