सल्यान, १८ साउन (जागरण) । सल्यानको कपुरकोट गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको छ । चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्याश गर्नुभयो ।
भवन शिलान्याश गर्दै भवन निर्माण कम्पनीलाइ निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभएको उहाँको भनाई उद्धृत गर्दै रेडियो राप्ती सल्यानले समाचार पठाएको छ ।
भवन अभावमा अहिले भइरहेको समस्या यो नयाँ भवन निर्माण भएपछि हट्ने विश्वास व्यक्ति गर्दै अध्यक्ष सेनले सेवा प्रवाहमा सहजता हुने उल्लेख गर्नुभयो ।
गत जेठ २३ गते निर्माण सम्झौता भएको उक्त भवन २०७७ सालको जेठ २३ गते सम्म सम्पन्न गरीसक्ने गरी गरि रोयल कन्ट्रक्शन धनगडी २ कैलालीले जिम्मा पाएको छ । यस कम्पनीका निर्माण व्यवशायी जिमजियाङ राई (जिम्बा) ले समयमै काम सम्पन्न गर्न आफु तत्पर रहेको बताउनुभयो । यस अघि जिम्बाले निर्धारित समयमै सल्यान स्थीत ईन्जीनियर भवन, शारदा नगरपालिकाको भवन लगाएत दर्जनौँ भवन निर्माण गरिसकेका छन् ।
कपुरकोटस्थित सेवा केन्द्रभित्र रहेको जमिनमा भवन बन्न लागेको हो । भवन निर्माण पछि गाउँपालिका कार्यालय संगै सम्पूर्ण विषयगत कार्यालयहरु पनि नवनिर्मित भवनमै अटाउने छन् ।