सुर्खेत बसपार्कः व्यवसायी गर्छन् यात्रु तानातान (भिडियाे/रिपोर्ट)

चाँदनी कठायत ।

सुर्खेत, १८ साउन (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्कमा यात्रुहरुमाथि यातायात व्यवसायीको मनपरी बढेको छ । सुर्खेतदेखि विभिन्न स्थानका लागि यात्रा गर्न निस्किएका यात्रुले आफ्नो ईच्छाअनुसार बस चढ्न पाउँदैनन् ।

आ–आफ्नो गाडीमा लैजानका लागि यात्रुहरुको हात समातेर तानातान हुने गरेको छ । सुनौँ सहकर्मी चाँदनी कठायतले तयार पार्नुभएको एक रिपोर्ट ।

कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगरको बसपार्कमा पुग्दा सुनिएको आवाज हो यो । यो आवाज आवाज मात्र नभई बस व्यवसायीहरुले यात्रु तानातान गर्दा बाझिएको यहाँ सुन्न सकिन्छ । सुर्खेत बसपार्कमा दैनिक हुने घटनामध्येको घटना यो पनि हो । टाढा जाने यात्रु तानातान अनि कुरा नमिल्दा व्यवसायीबिच हानाहान हुनु यहाँ दैनिकजसो नै हुने घटना हुन् । सुर्खेतमा रहेका केही यातायात व्यवसायीहरुबिच यात्रु आ–आफ्नो गाडीमा लैजानका लागि तानातान हुँदा यसको मारमा यात्रु परेका छन् । झोला बोकेर बसपार्क पुग्ने यात्रुलाई आफ्नो बसमा लैजान यहाँ बस व्यवसायीहरुबिच तछाडमछाड हुने गरेको छ । यही तानातानको मारमा पर्नुभएका यात्रु लेकवेशी १० सुर्खेतका कर्णबहादुर पुलामी व्यवसायीले यो दादागिरी बन्द गर्नुपर्ने बताउनुहुन्छ ।

यात्रुहरुको सुरक्षाका लागि बसपार्क नजिकै नागरिक सहायता कक्ष नाम दिएर प्रहरी बिट स्थापना गरिएको छ । तर यसरी यात्रुहरु तानातान भईरहँदा ट्राफिक भने मुगदर्शक बनेर हेरिरहेको देखिन्थ्यो । यसबारेमा बसपार्कमैं ड्युटी गरिरहनुभएका ट्राफिक प्रहरी कार्यालयका हवल्दार सोमराज हमाललाई सोध्दा व्यवसायीहरुलाई अनैतिक क्रियाकलाप गर्न नदिएको स्पष्टिकरण दिनुहुन्छ ।

बसपार्क पुग्ने यात्रुहरु खोसाखोस गरेको कुरा सुर्खेत बुलबुले यातायात प्रालिका सहायक ईन्चार्ज भीम रोकाले घुमाउरो पारामा स्वीकार गर्नुहुन्छ । आफ्नो काउन्टर यात्रुले नदेखेपछि तानेरै भएनी गाडीसम्म पु¥याउनुपर्ने बाध्यता रहेको उहाँ बताउनुहून्छ ।

बसपार्क पुगेका यात्रुलाई आफ्नो गाडीमा लैजान तानातान गर्नेमा देउती नागरिक यातायात प्रालिका व्यवसायी पनि थिए । प्रा.लि.का सहायक ईन्चार्ज बमबहादुर विष्टले व्यवसायीबिचको रिसका कारण यात्रु तानातान हुने गरेको स्वीकार गर्नुहुन्छ ।

प्रदेश राजधानीबाट विभिन्न स्थानका लागि छुट्ने यी यातायातका साधनमा स्वतन्त्र ढंगले चढ्न पाउनुपर्नेृ यात्रुको भनाई छ । व्यवसायीहरुबिचको अस्वस्थ प्रतिस्पर्धाका कारण मारमा परेका यी यात्रुले अब सिण्डीकेट अन्त्य भएको घोषणा गर्ने सरकारले यसप्रति पनि गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको सुझाव दिएका छन् ।

हेर्नुहाेस् भिडियाेः