कर्णाली राजमार्गमा जोखिम बढ्दै

कर्णाली, १८ साउन (जागरण) । कर्णाली राजमार्गमा ठूला गाडीका कारण जोखिम बढेको छ । ठूला गाडीको आवागमनले राजमार्ग जाममा पर्दा सास्ती खेप्नु परेको यात्रुहरुले गुनासो गरेका छन् ।
जुम्लाका डिल्ली तिवारीले कर्णाली राजमार्गको चौडाइलाई ध्यानमा राखी उपयुक्त गाडीलाई मात्र सञ्चालन गर्न अनुमति दिईनुपर्ने बताउनुभयो ।
कर्णाली राजमार्गको अधिकांश स्थानमा पहिरो गएकाले जोखिम मोलेर कर्णालीवासीले यात्रा गर्नुपरेको उहाँले बताउनुभयो ।
कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मीनबहादुर थापाले कर्णाली राजमार्गको चौडाइ कम भएकाले सवारीसाधन आवतजावतमा ठूलो समस्या आउने गरेको बताउनुभयो ।
यसैबिच, कालिकोटमा विना मापदण्डमा निर्माण गरिएका सडकहरु वर्षायाममा जोखिमपुर्ण भएको समाचार रेडियो चंखेली कालिकोटले पठाएको छ ।
कर्णाली राजमार्गका विभिन्न ठाउँमा ठेकेदारको लापरवाहीका कारण मापदण्ड पुरा नगरि निर्माण गरिएका मुख्य तथा सहायक सडकहरु जोखिमयुक्त रहेको पाइएको हो ।
सदरमुकाम मान्ममा पनि ढल निकासको राम्रो व्यवस्था नभएका कारण सडक झन अवरुद्ध भएको छ ।
खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसिप्रसाद पाण्डेले पुरानो बषपार्क देखि जिरोपोईन्ट सम्मको सडक निर्माणमा नगरपालिकाले तत्काल पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।